निर्वाचनमा खटिने ९५० बढी कर्मचारीको नामावली सार्वजनिक

भिजन समाचार
312
Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ओखलढुंगामा ९५० भन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले खटिने कर्मचारीहरूको नामावली सार्वजनिक गर्दै निर्वाचन तयारीलाई तीव्रता दिएको जनाएको छ ।

सहायक निर्वाचन अधिकृत सविनराज पाण्डेका अनुसार जिल्लाभर रहेका ८४ मतदान स्थल अन्तर्गत १५७ मतदान केन्द्रमा उक्त संख्यामा कर्मचारी खटाइनेछन् । कार्यालयका अनुसार फागुन १८ गतेसम्म सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने व्यवस्था मिलाइएको छ ।

प्रत्येक मतदान केन्द्रमा आठदेखि नौ जनासम्म कर्मचारी रहनेछन् । संरचनाअनुसार एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी, दुईदेखि तीन जना स्वयंसेवक तथा एक जना कार्यालय सहयोगी परिचालन गरिनेछ ।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइराला का अनुसार ५०० भन्दा कम मतदाता रहेका मतदान केन्द्रमा दुई जना स्वयंसेवक र ५०० भन्दा बढी मतदाता रहेका केन्द्रमा तीन जना स्वयंसेवक नियुक्त गरिने व्यवस्था गरिएको छ ।

कर्मचारीहरूलाई फागुन १४ र १५ गते निर्वाचनसम्बन्धी तालिम प्रदान गरिनेछ । तालिममा मतदान प्रक्रिया, मतपेटिका व्यवस्थापन, मतदाता पहिचान, आचारसंहिता पालना तथा आपत्कालीन अवस्थाको व्यवस्थापनसम्बन्धी विषय समेटिने जनाइएको छ ।

कार्यालयले निर्वाचनलाई मर्यादित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक तयारी तथा निर्देशनसमेत दिइसकेको जनाएको छ । निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायसँग समन्वय गरी अन्तिम चरणको तयारी भइरहेको कार्यालयको भनाइ छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले सार्वजनिक गरेको नामावलीअनुसार तोकिएका कर्मचारीहरूलाई समयमै तोकिएको केन्द्रमा उपस्थित हुन निर्देशनसमेत दिइएको छ । निर्वाचन सम्पन्न गर्न प्रशासन, सुरक्षा निकाय र कर्मचारीबीच समन्वयात्मक रूपमा काम भइरहेको बताइएको छ ।