आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा ओखलढुंगामा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै टाँसिएका दर्जनौँ प्रचार सामग्री हटाइएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगा ले सदरमुकाम सहित विभिन्न स्थानमा जथाभावी टाँसिएका पर्चा, पम्पलेट, ब्यानर तथा पोस्टर हटाइएको जनाएको हो ।
प्रशासनका अनुसार सार्वजनिक स्थल, बिजुलीका पोल, सरकारी भवन, सडक छेउछाउ तथा निषेधित क्षेत्रहरूमा टाँसिएका प्रचार सामग्री आचारसंहिता विपरीत पाइएपछि हटाउने अभियान सञ्चालन गरिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन अनुगमनलाई तीव्र पारिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत रोशन श्रेष्ठले निर्वाचनको विश्वसनीयता कायम राख्न आचारसंहिताको कडाइका साथ कार्यान्वयन भइरहेको जानकारी दिए । उनले उम्मेदवार तथा राजनीतिक दललाई नियमविपरीत प्रचार सामग्री नराख्न र राखिएको भए तत्काल हटाउन आग्रह गरे ।
प्रशासनले अनुगमन तथा प्राप्त उजुरीका आधारमा आचारसंहिता विपरीत टाँसिएका सामग्री हटाउने कार्य निरन्तर जारी रहने स्पष्ट पारेको छ । साथै, आचारसंहिता उल्लंघन गर्दै यस्ता सामग्री टाँस्ने जो–कोहीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ ।
निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनीतिक गतिविधि बढ्दो क्रममा रहेकाले प्रशासनले सबै पक्षलाई संयमित र जिम्मेवार ढंगले प्रचार–प्रसार गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया