आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुंगामा एक हजार ६१९ जना अस्थायी मतदाता कायम भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका सूचना अधिकारी बिदुर कुमार बस्नेतका अनुसार जिल्लामा सुरक्षाकर्मी, निर्वाचन प्रहरी, कैदीबन्दी तथा निर्वाचनमा खटिएका कर्मचारीहरू गरी उक्त संख्या कायम भएको हो ।
उनका अनुसार अस्थायी मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने मतदान गर्न नपाइने उनले स्पष्ट पारे ।
कैदीबन्दीहरूका लागि कारागारभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरिने छ । यस्तै सुरक्षाकर्मीहरूका लागि जिल्ला समन्वय समितिको हल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय प्रांगणमा मतदान केन्द्र तोकिएको छ ।
निर्वाचनमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीहरूले आफू कार्यरत वा खटिएको स्थानबाटै समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आवश्यक तयारी तीव्र पारिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया