प्रहरी सहायक हवल्दार साजन कार्की माघ महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले २०८२ साल माघ महिनाको “ट्राफिक पुलिस अफ द मन्थ” घोषणा गर्दै कार्कीलाई सम्मानित गरेको हो ।
प्रहरी चौकी प्रकाशपुर दरबन्दी भई हाल ट्राफिक प्रहरी पोष्ट हर्कपुरमा कार्यरत कार्कीले कर्तव्यनिष्ठ, व्यवसायिक र जिम्मेवार ढंगले कार्य सम्पादन गर्दै उत्कृष्टता प्रदर्शन गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको कार्यालयले जनाएको छ ।
सिद्धिचरण राजमार्ग अन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुर क्षेत्रमा सवारी चेकजाँचका क्रममा बा ८९ प ६९३७, बा ९१ प १७१९ नम्बरका स्कुटर तथा प्रदेश ०२–०३८ प ०३४७ नम्बरको मोटरसाइकल शंकास्पद अवस्थामा फेला परेका थिए । आवश्यक अनुसन्धान तथा कार्यालयसँगको समन्वयपछि उक्त मोटरसाइकल सिरहाको साविक लालपुर गाविस–१ (हाल गोलबजार नगरपालिका–२) निवासी ३८ वर्षीय सन्तोष कुमार साहको नाममा दर्ता रहेको पुष्टि भएको थियो ।
कार्कीले उक्त मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाउँदै चोरी भएका सवारी साधन खोजी तथा फिर्ता अभियानमा उल्लेखनीय सफलता हासिल गरेका थिए ।
यसका साथै उनले ओखलढुंगा जिल्लाका स्थानीय तह तथा विभिन्न संघ–संस्थासँग सहकार्य गरी सवारी दुर्घटना न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै बढी दुर्घटना हुने स्थान (ब्ल्याक स्पट) मा जानकारीमूलक बोर्ड स्थापना गर्न सक्रिय भूमिका निर्वाह गरेका छन् ।
कार्कीको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै “उत्कृष्ट ट्राफिक प्रहरी” घोषणा गरिएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया