ओखलढुंगामा एक हजार दुई किशोरीलाई पाठेघरको क्यान्सर विरुद्ध एचपीभी खोप लगाइने

भिजन समाचार
70
Shares

ओखलढुंगामा एक हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइने भएको छ ।
राष्ट्रिय अभियान अन्तर्गत फागुन ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने अभियानमा जिल्ला एक हजार दुई किशोरीलाई एचपीभी खोप दिइने भएको हो ।

स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगाका अनुसार जिल्लाभर फागुन ४, ५ र ६ गते नियमित खोप कार्यक्रमअन्तर्गत खोप सेवा प्रदान गरिनेछ । स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगाले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन एक अन्तरक्रिया गरेको थियो ।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराई, प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, सिद्धिचरण नगरपालिका उप प्रमुख केदारबाबु बस्तेत, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुरेश ढकाल, जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगाका प्रमुख डा अम्रिता श्रेष्ठ लगायत सरोकारवालाले एचपीभी खोपको महत्व समुदायमा बुझाएर भ्रम हटाउन आवश्यक रहेकोमा जोड दिएका थिए ।

खोप फोकल पर्सन उमा गुरुङका अनुसार यस वर्ष जिल्लामा कक्षा ६ मा अध्ययनरत ९८७ जना तथा विद्यालय बाहिर रहेका १५ जना गरी कुल एक हजार दुई जना किशोरीलाई एचपीभी खोप लगाइनेछ ।

जिल्लाका आठवटै स्थानीय तहका विद्यालय, स्वास्थ्य संस्था स्थापना गरिएका खोप केन्द्रमार्फत फागुन ४ र ५ गते खोप सेवा सञ्चालन हुनेछ । त्यस्तै फागुन ६ गते स्वास्थ्य संस्थाबाट पनि खोप लगाउने व्यवस्था मिलाइएको छ ।

विद्यालयमा अध्ययनरत किशोरीलाई विद्यालयमै खोप दिइनेछ भने विद्यालय बाहिर रहेका किशोरीलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाइने उनले बताइन् ।

स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगाका प्रमुख मनिषा मोक्तानका अनुसार एचपीभी संक्रमण पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण हो । प्रारम्भिक किशोरावस्थामा एचपीभी खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेख्य रूपमा घट्ने अध्ययनहरूले देखाएका छन् ।

खोप सुरक्षित, प्रभावकारी तथा निःशुल्क भएकाले लक्षित समूहका सबै किशोरीलाई अनिवार्य रूपमा सहभागी गराउन अभिभावक तथा सरोकारवालासँग उनले आग्रह गरिन् ।

गत वर्ष जिल्लामा अभियानका रूपमा छ हजार २६५ जना किशोरीलाई एचपीभी खोप लगाइएको थियो । यस वर्ष भने नियमित खोप कार्यक्रमअन्तर्गत कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिर रहेका किशोरीलाई लक्षित गरी अभियान सञ्चालन गरिन लागेको स्वास्थ्य कार्यालयले जनाएको छ ।