स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्याङ्कन नतिजा अनुसार ओखलढुंगाको सुनकोशी गाउँपालिका प्रथम भएको छ । जिल्लाका आठ स्थानिय तह मध्ये सुनकोशी पहिलो भएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङ्कन गरी अङ्क प्रदान गरेको नतिजा हालै सार्वजनिक गरेको थियो ।
नतिजा अनुसार सबैभन्दा धेरै अंक ६४.६९ प्राप्त गर्दै सुनकोशी प्रथम बनेको छ । वित्त आयोगले स्थानीय तहको कार्यसम्पादनका विभिन्न १७ सूचकलाई मूल्याङ्कन गर्दा जिल्लाको मानेभन्ज्याङ गाउँपालिकाले भने सबैभन्दा कम ४७.५४ अंक पाएको छ ।
यस्तै मोलुङ गाउँपालिकाले ६०.९९, खिजीदेम्बाले ६०.८४, लिखुले ६०.७७ र सिद्धिचरण नगरपालिकाले ५७.०३ अंक प्राप्त गरेको छ । चिशंखुगढी गाउँपालिकाले ५५.६४ र चम्पादेवी गाउँपालिकाले ४७.७३ अंक प्राप्त गरेको छ ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिन रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङ्कन अङ्क प्रदान गर्दछ ।
जसअनुसार वित्त आयोगले आर्थिक वर्ष २०८३/०८४ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन सूचकाङ्कका आधारमा सबै तहका सरकारहरूको कार्यसम्पादन मूल्याङ्कन गरेको छ ।
यद्यपि प्राप्त अंक चित्त नबुझेमा प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन कार्यविधि २०७८ को दफा ९ अनुसार सुचना प्रकाशित भएको मिति २०८२ माघ २९ बाट सात दिन भित्र आवश्यक आधार र प्रमाणसहित पुनरावलोकनका लागि आयोग समक्ष अनुसुची ५ को ढाँचामा इमेल मार्फत निवेदन गर्न समेत आयोगले भनेको छ ।

प्रतिक्रिया