ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरे बोहोरेस्थित राई दम्पत्तीको हत्या तथा लुटपाट घटनामा संलग्न प्रतिवादीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
गत माघ १२ गते ८१ वर्षीय चन्द्र विक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्रमाया राईको विभत्स हत्या तथा लुटपाटमा संलग्न रहेको आरोपमा सोही वडाका भदौरे निवासी ३४ वर्षीय धनबहादुर राना मगर र १७ वर्षीय एक बालकलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीले माघ २३ गते काठमाडौं महानगरपालिका–१५ डल्लुबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा लुटपाट गर्ने उद्देश्यले अभियुक्तहरूले काठमाडौँमै हत्या योजना बनाएको र रातको समयमा ओखलढुंगा आएर वृद्ध दम्पत्तीको हत्या तथा लुटपाट गरी सोही रात पुनः काठमाडौँ फर्किएको तथ्य खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा प्रयोग भएको कोदालो एक थान, मृतक दम्पत्तीले प्रयोग गर्दै आएका दुई थान मोबाइल, अभियुक्तहरूले प्रयोग गरेका दुई थान मोबाइल, रिचार्ज कार्ड १५९ थान, सुनजस्तै देखिने पहेँलो धातुको मङ्गलसूत्र र सिक्री एक–एक थान, नगद १२ हजार रुपैयाँ तथा चार थान सि–माला बरामद गरी सार्वजनिक गरेको छ ।
पक्राउ परेका अभियुक्तहरूलाई माघ २५ गते ओखलढुंगा जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) तथा डाँका चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया