ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा लुटपाटपछि विभत्स रूपमा हत्या गरिएका वृद्ध दम्पत्तिको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । करिब दुई हप्ता अघिको उक्त घटनाले सिंगो गाउँलाई त्रासमा पारेको थियो ।
माघको तेस्रो साता ८१ वर्षीय चन्द्र विक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्रमाया राई आफ्नै घरभित्र लुटपाटपछि हत्या गरिएकाे अवस्थामा फेला परेका थिए । घरमै हत्या भएपछि स्थानीयमा असुरक्षाको गहिरो भावना फैलिएको थियो ।
दुईदिन अघि प्रहरीले साेही गाउँका मगर थरका दुई दाजुभाइलाई काठमाडौंबाट पक्राउ गरी जिल्लामा ल्याएर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय दाइ र करिब १७ वर्षीय नाबालक भाइ रहेका छन् । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान जारी रहेकाले हाल उनीहरूको नाम र विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
स्थानीय स्रोतका अनुसार ती दाजुभाइ सानै उमेरदेखि काठमाडौं क्षेत्रमा बसोबास गर्दै आएका थिए । राई दम्पत्तिको हत्या भएको समयमा उनीहरू गाउँमा आएको र घटनापछि अचानक सम्पर्कविहीन बनेको तथ्य बाहिरिएको छ । स्रोतका अनुसार उनीहरू घटनापछि ओखलढुंगाबाट खोटाङ हुँदै काठमाडौं पुगेका थिए । उनिहरुकाे शंकास्पद गतिविधीलाई प्रहरीले नजिक बाट नियाली रहेकाे थियाे ।
पक्राउ परेका दाजु वैदेशिक रोजगारीका लागि मलेसिया गएर फर्किएका व्यक्ति हुन् । स्थानीयवासीले उनीहरूको गतिविधि र पृष्ठभूमि शंकास्पद देखिएको बताउँदै घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन् । प्रहरीले यो सम्भावनालाई नकारेको छैन र सबै कोणबाट अनुसन्धान भइरहेको जनाएको छ ।
वडा सचिव चेलेन्द्र कार्कीका अनुसार घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको खबरपछि गाउँमा केही हदसम्म शान्ति कायम भएको छ । यद्यपि, स्थानीय अझै पूर्ण रूपमा सुरक्षित महसुस गर्न नसकेको उनको भनाइ छ ।
भदौरे क्षेत्र पछिल्लो समय लगातार हत्याका घटनाले चिन्ताको केन्द्र बनेको छ । यसअघि करिब डेढ महिनाअघि सोही क्षेत्रमा शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको पनि लुटपाटपछि हत्या भएको थियो । त्यसअघि सिद्धिचरण नगरपालिका–४ चार्खुमा ५२ वर्षीया एकल महिलाको हत्या भएको थियो । उक्त घटनामा संलग्न आरोपमा चार जना पक्राउ परेर अनुसन्धान भइरहेको अवस्थामा पुनः राई दम्पत्तिको हत्या भएको हो ।
अनुसन्धान अनुसार तीनै घटनामा लुटपाटपछि हत्या गरिएको समान शैली देखिएको छ । मृतक मगर दम्पती र राई दम्पती दुवैले गाउँमा साना किराना पसल सञ्चालन गर्दै आएका थिए ।
लगातारका श्रृंखलाबद्ध हत्या घटनाले ओखलढुंगाबासीमा गहिरो त्रास पैदा गरेको छ । जिल्लाका राजनीतिक दल, नागरिक समाज तथा सरोकारवालाहरूले दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी कडा कारबाही गर्न र ग्रामीण क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन माग गरेका छन् ।

प्रतिक्रिया