ओखलढुंगाकाे ‘लाइफलाइन’ मोलुङ एकवार सडक छिचाेलियाे


ओखलढुंगा सदरमुकाम पुग्ने मुख्य पैदल मार्गका रूपमा प्रयोग हुँदै आएको मोलुङ एकवार मार्ग अब सडकका रूपमा विकास भई सञ्चालनमा आएको छ । दुई दशक अघिसम्म तराई तथा बाह्य जिल्लाबाट ओखलढुंगा पुग्ने प्रमुख पैदल मार्ग मानिने यो सडक छिचोलिएसँगै हाल हलुका सवारी साधन सञ्चालन हुन थालेका छन् ।

मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरदेखि मोलुङ खोला किनारैकिनार हुँदै ओखलढुंगा सदरमुकाम पुग्ने सडक सञ्चालनमा आएपछि यात्राको दूरी छोटिएको छ । मोलुङ खोला किनारैकिनार निर्माण भएको यो सडक हर्कपुर–ओखलढुंगा सिद्धिचरण राजमार्गभन्दा करिब १० किलोमिटर छोटो रहेको छ ।

वि.सं. २०४४ मा गोरेटो बाटोका रूपमा निर्माण गरिएको मोलुङ एकवार मार्ग ओखलढुंगा र सोलुखुम्बु जिल्लालाई जोड्ने प्रमुख पैदल मार्ग थियो । पछि यसलाई सडकका रूपमा स्तरोन्नति गर्ने योजना अघि बढाइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमा सडक डिभिजन कार्यालय हर्कपुर, ओखलढुंगाले २०७९ माघ १० गते महालक्ष्मी–भुजेल जेभी, काठमाडौंसँग २५ करोड ९८ लाख रुपैयाँभन्दा बढी लागतमा ठेक्का सम्झौता गरी सडक निर्माण कार्य सुरु गरेको थियो। ठेक्का सम्झौताअनुसार २०८२ माघ १८ गते सडक निर्माण सम्पन्न भएको हो ।

निवर्तमान संघीय सांसद रामहरी खतिवडाले हरिबोले भिर छिचोल्दै सडक सञ्चालनमा आउनु ओखलढुंगा जिल्लाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । लामो समयदेखिको निरन्तर प्रयास र पहलका कारण सडक सुचारु भएको उनको भनाइ छ ।

सुनकोशी गाउँपालिका–६ का वडा अध्यक्ष विष्णु आलेमगर र वडा नम्बर ८ का अध्यक्ष गुणराज भट्टराईले सडक सञ्चालनसँगै आवतजावत छोटो, छिटो र सहज भएको बताएका छन् । सडक खुलेसँगै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने उनीहरूको विश्वास छ ।

सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सविन जोशीका अनुसार बजेट अभावका कारण करिब १ करोड ३२ लाख रुपैयाँ भुक्तानी बाँकी रहेको छ । बाँकी काम चाँडै सम्पन्न गरिने र आगामी दिनमा सडक स्तरोन्नति गर्ने योजना रहेको जाेशीले जानकारी दिए । हाल सडकमा दुई पाङ्ग्रे तथा हलुका चार पाङ्ग्रे सवारी साधन मात्र सञ्चालनमा छन् ।

तत्कालीन संविधानसभा सदस्य यज्ञराज सुनुवारले निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजना अन्तर्गत उक्त सडक छनोट गरेका थिए । हरिबोले क्षेत्रमा कडा चट्टान फेलापरेकाले सडक निर्माणमा समय लागेको जनाइएको छ । यो सडकलाई ओखलढुंगा जिल्लाको ‘लाइफलाइन’ का रूपमा हेरिएको छ ।