भदौरेमा चुनाव बहिष्कार घोषणा, नो–भोट अभियानमा नागरिक एकजुट

राई दम्पतीकाे घर, घटना स्थल।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा स्थानीय नागरिकले आसन्न फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् । पछिल्लो एक महिनाभित्र गाउँमै चार जनाको हत्या भए पनि राज्य र सुरक्षा निकाय गम्भीर नदेखिएको आरोप लगाउँदै भदौरेवासीले सामूहिक रूपमा ‘नो–भोट’ अभियान अघि बढाउने निर्णय गरेका हुन् ।

भदौरेकाे बाेहाेरे टाेलमा एक साता अघि ८१ वर्षिया चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको अज्ञात समूहद्वारा विभत्स हत्या भएको थियो । घटनामा संलग्न हत्यारा हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । यसअघि करिब एक महिना अघि सोही गाउँमा ६० वर्षिया सोभितमान थापा मगर र उनकी श्रीमतीको हत्या भएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

लगातारका हत्या, लुटपाट र हिंसाका घटनाले गाउँमा त्रास र असुरक्षाको वातावरण सिर्जना भएको भन्दै भदौरेमा बसेको आम नागरिक भेलाले राज्य नागरिकको जिउधनको सुरक्षा गर्न असफल भएको निष्कर्ष निकालेको छ । भेलाका अनुसार कानुनी कमजोरीकै कारण अपराधीहरूको मनोबल बढ्दै गएको छ भने सर्वसाधारण नागरिक भय, त्रास र मानसिक तनावमा बाँच्न बाध्य भएका छन् ।

भेलामा सहभागी नागरिकहरूले राति आफ्नै घरमा सुत्न नसक्ने अवस्था सिर्जना भएको, सामूहिक रूपमा अरूको घरमा बस्नुपर्ने तथा कतिपय परिवार गाउँ नै छोड्न बाध्य भएको गुनासो गरेका छन् । यस्तो गम्भीर अवस्थाप्रति समेत राज्य निरीह बनेको आरोप उनीहरूको छ ।

भेलाले जघन्य अपराधको प्रकृति, अपराधीको पृष्ठभूमि र समाजमा परेको गम्भीर प्रभावलाई ध्यानमा राख्दै ‘रेयर अफ द रेयरेस्ट’ सिद्धान्त अवलम्बन गरी दुर्लभ र क्रूर अपराधमा मृत्युदण्डको व्यवस्था गरिनुपर्ने मागसमेत अघि सारेको छ । यसका लागि संघीय संसदमार्फत कानुन संशोधन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।

राज्यले अपराधीलाई कानुनी दायरामा ल्याई नागरिकको जिउधनको सुरक्षा सुनिश्चित नगरेसम्म तथा आफ्ना मागहरू सम्बोधन नगरेसम्म आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान नगर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको भेलाले जनाएको छ । यसैगरी व्यक्तिगत भेटघाटबाहेक कुनै पनि राजनीतिक सभा, जुलुस, नारा तथा भेलामा सहभागी नहुने निर्णयसमेत गरिएको छ ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टीका स्थानीय प्रतिनिधिबाट नो–भोट अभियानप्रति फरक मत रहेको भन्दै स्पष्टिकरणसमेत सार्वजनिक गरिएको छ ।

भदौरे सिंगो गाउँको भेलाले सन्तोषकाजी कार्कीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरेको छ । समितिले पीडित परिवारलाई न्याय दिलाउने, नागरिक सुरक्षाका सवालमा राज्यलाई दबाब दिने तथा चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

भेलाले तत्काल लागू गर्नुपर्ने अल्पकालीन सुरक्षा व्यवस्थापनका लागि राज्यसमक्ष विभिन्न माग अघि सारेको छ । हत्या घटनामा संलग्न हत्याराहरूलाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम हदैसम्मको सजाय सुनिश्चित गर्नुपर्ने, दोषीहरू कानुनी दायरामा नआउँदासम्म अस्थायी क्याम्प वा पोष्ट स्थापना गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा आवश्यक परे नेपाली सेनाको संयुक्त टोली परिचालन गर्नुपर्ने माग गरिएको छ ।

दीर्घकालीन रूपमा नागरिकको सुरक्षा सुनिश्चित गर्न निशंखे प्रहरी चौकीलाई इलाका प्रहरी चौकीमा स्तरोन्नति गर्दै थप जनशक्ति परिचालन गर्नुपर्ने, भदौरे वडामा स्थायी प्रहरी पोष्ट स्थापना गर्नुपर्ने तथा आवश्यक स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकपोष्ट व्यवस्था गर्नुपर्ने मागसमेत गरिएको छ ।

यसका साथै वडा कार्यालयले पनि जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सँग हत्यारालाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम हदैसम्मको सजाय सुनिश्चित गर्न, पीडित परिवारलाई न्यायको अनुभूति गराउन तथा वडाका मुख्य चोक र सडकहरूमा सीसी क्यामेरा जडान गरी निगरानी व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेको छ । वडाअध्यक्ष बलराम कटवालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ ।

जिल्लास्थित विभिन्न राजनितिक दलहरुले सुरक्षा व्यस्था चुस्त बनाउन जिल्ला प्रशासनलाई ध्याकर्षण गराएका छन् ।