ओखलढुंगाको भदौरेमा फेरि राई दम्पतीको विभत्स हत्या

भिजन समाचार
2.4k
Shares
राई दम्पतीकाे घर, घटना स्थल।

मगर दम्पतीकाे हत्या भएकाे घटना सेलाउन नपाउदै ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा फेरि एक वृद्ध दम्पतीको विभत्स हत्या भएको छ । भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्र विक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको हो ।

वडा अध्यक्ष बलराम कटवालका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी दुवैको हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था कडा बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले घटनाबारे जानकारी दिँदै आफू नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गर्ने तयारीमा रहेको बताए । “घटनास्थल सुरक्षित राखिएको छ, अनुसन्धानका लागि प्रहरी टोली परिचालन हुँदैछ,” उनले भने ।

एक महिना अघि पनि यही चिशंखुगढी भदौरेमा करिब ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको हत्या भएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा ४ जना पक्राउ परेर अनुसन्धान भइरहेको बेला फेरि अर्को हत्याको घटना सार्वजनिक भएपछि स्थानीयवासी त्रसित बनेका छन् ।

लगातार भएका हत्या घटनाले भदौरे क्षेत्रमा सुरक्षा चुनौती थपिएको भन्दै स्थानीयले दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।