सोलुखुम्बुमा उत्पादन हुने स्याउलाई थप आकर्षक, मिठो र व्यावसायिक रूपमा प्रतिस्पर्धी बनाउन २० जना कृषकलाई व्यवहारिक तालिम प्रदान गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुंगाको आयोजनामा उच्च घनत्वमा स्याउ उत्पादन प्रविधिसम्बन्धी तीनदिने जिल्ला स्तरीय तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रम कार्यान्वयन एकाइको कार्यक्षेत्रभित्र स्याउ तथा ओखर जोन क्षेत्र समेत रहेकाले सोलुखुम्बुका कृषक तथा व्यवसायीलाई स्याउ खेती प्रवर्द्धनसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको निमित्त वरिष्ठ कृषि अधिकृत हेम आले मगरले जानकारी दिए । उनका अनुसार कृषकहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूमार्फत अन्य कृषकसम्म समेत उच्च घनत्व स्याउ उत्पादन प्रविधि विस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
एभरेष्ट एग्रो रिसर्च एण्ड टुरिजम डेभलपमेन्ट प्रा.लि., सोलुखुम्बुको पत्ताले फार्ममा सम्पन्न तालिममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ लमजुङका वरिष्ठ कृषि अधिकृत पद्मनाथ आत्रेयले प्रशिक्षण दिएका थिए ।
तालिमका क्रममा उच्च घनत्व स्याउ खेतीको वर्तमान अवस्था, समस्या, चुनौती र समाधानका उपाय, बगैँचा व्यवस्थापन, बिरुवा रोपण, टप वर्किङ, ग्राफ्टिङका विभिन्न विधि, नर्सरी व्यवस्थापन, रोग–किरा नियन्त्रण, मल व्यवस्थापन, सिँचाइ तथा बिरुवा र बोटको समुचित हेरचाहबारे स्याउ फार्ममै लगेर व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।
कृषक, व्यवसायी तथा सरकारको ठूलो लगानी रहेको स्याउ र ओखर बालीमा उचित ज्ञान, सीप र तालिमको अभावमा क्षति हुन सक्ने भएकाले यस्ता तालिम अत्यावश्यक रहेको प्रशिक्षक आत्रेयले बताए ।

प्रतिक्रिया