ओखलढुंगामा गहत खेती किसानका लागि आम्दानीको राम्रो श्राेत बन्दै गएको छ । केहि वर्ष अघि सम्म गहत हेलाकाे खेती मानिन्थ्याे । सडककाे पहुँच सँगै गहतले मुल्य पाउदा किसान हर्षित भएका छन् ।
कृषि ज्ञान केन्द्र ओखलढुंगाले पहिलाे पटक गहत उत्पादनको विवरण सार्वजनिक गरेकाे छ । तथ्याङ्क अनुसार पछिल्ला तीन आर्थिक वर्षमा समान क्षेत्रफलमा खेती भए पनि उत्पादनमा भने उतारचढाव देखिएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा जिल्लाभर ४७० हेक्टर क्षेत्रफलमा गहत खेती गरी १ दशमलव ४६ मेट्रिक टन उत्पादन भएको थियो, जुन पछिल्ला तीन वर्षमध्ये सबैभन्दा बढी हो । तर त्यसपछि आर्थिक वर्ष २०८०/०८१ मा उत्पादन घटेर १ दशमलव ३८ मेट्रिक टनमा सीमित भयो ।
गत आर्थिक वर्ष २०८१/०८२ मा भने उत्पादनमा केही सुधार भई १ दशमलव ४२ मेट्रिक टन पुगेको कृषि ज्ञान केन्द्र ओखलढुंगाका सूचना अधिकारी इन्द्र राईले जानकारी दिए । उनका अनुसार मौसमको प्रतिकूलता, रोग–किराको असर र परम्परागत खेती प्रणालीका कारण उत्पादन स्थिर हुन नसकेको हो ।
चालु आर्थिक वर्षमा पनि ४७० हेक्टर क्षेत्रफलमै गहत खेती गरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका, सुनकोशी गाउँपालिका, चिशंखुगढी र मानेभञ्ज्याङ गाउँपालिकाका केही स्थानमा गहत खेती हुँदै आएको केन्द्रले जनाएको छ ।
पहिले हेलाको खेती मानिने गहत अहिले नगदे बालीका रूपमा स्थापित हुन थालेको सुनकोशी गाउँपालिका–१ बलखुका किसान यज्ञबहादुर राईले बताए । यस वर्ष गहत प्रतिक्विन्टल १० हजारदेखि १४ हजार रुपैयाँसम्ममा बिक्री भएको राईले बताए । उनका अनुसार उत्पादन बढाउन सके किसानको आम्दानी अझै राम्रो हुने सम्भावना रहेको छ ।
कृषि ज्ञान केन्द्रले रोग नियन्त्रण, उन्नत बीउ प्रयोग र समयमै मल व्यवस्थापन गरे उत्पादन बढाउन सकिने सुझाव दिएको छ । तर स्थानियहरुले यस सम्बन्धी वेवास्ता गरेका छन् । व्यापारी वा विचाैलियाले ताेकेकाे मुल्यमा गहत बेच्नु परेकाे कृषकहरुकाे गुनासाे छ ।

प्रतिक्रिया