ओखलढुंगामा छ महिनामा २७ सवारी दुर्घटना, २ जनाको मृत्यु

भिजन समाचार
190
Shares
अटाे संग ठाेक्कीएर भएकाे स्कुटर दुर्घटना।।

ओखलढुंगामा चालु आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा जिल्लामा २७ वटा सवारी दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका अनुसार ती दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक हवल्दार नारायण बस्नेतका अनुसार जिल्लामा हुने अधिकांश दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको छ । उनका अनुसार केही दुर्घटना भने सडकको कमजोर अवस्था र सवारी साधनको प्राविधिक समस्याका कारण पनि भएका छन् ।

दुर्घटनाको तथ्यांक हेर्दा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेका छन् । छ महिनाको अवधिमा १६ वटा मोटरसाइकल दुर्घटना भएका छन् । त्यसपछि कार–जिप ८ वटा, ट्रक ३ वटा, ट्याक्टर ३ वटा, टेम्पु ३ वटा, ट्रिपर १ वटा, बस १ वटा र अन्य १ वटा सवारी साधन दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरीले सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, सवारी साधनको नियमित मर्मतसम्भार गर्न तथा जोखिमपूर्ण सडक खण्डमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि चालक, यात्रु र सरोकारवाला निकाय सबैको सचेतना र जिम्मेवारी आवश्यक रहेको ट्राफिक प्रहरीको भनाइ छ ।