ओखलढुंगा जिल्लामा रहेका ३५७ वटा सामुदायिक वन उपभोक्ता समूहले एक वर्षको अवधिमा दुई करोडभन्दा बढी आम्दानी गरेका छन् । डिभिजन वन कार्यालय ओखलढुंगाका अनुसार गत आर्थिक वर्षमा सामुदायिक वन समूहहरूले कुल २ करोड १८ लाख ६२ हजार ७२२ रुपैयाँ आम्दानी गरेका हुन् ।
डिभिजन वन कार्यालय ओखलढुंगाकी सूचना अधिकारी अस्मिता न्यौपानेका अनुसार सो अवधिमा सबैभन्दा बढी आम्दानी अनुदानबाट भएको छ । अनुदानबाट मात्रै ९२ लाख ९१ हजार १४५ रुपैयाँ प्राप्त भएको छ । यसैगरी वन पैदावार बिक्रीबाट ७३ लाख ५१ हजार ६६१ रुपैयाँ, सदस्य शुल्कबाट ८ लाख ८ हजार २५९ रुपैयाँ, जरिवनाबाट १२ लाख ८ हजार रुपैयाँ र अन्य स्रोतबाट ४१ लाख ४५ हजार ५०२ रुपैयाँ आम्दानी भएको छ ।
सामुदायिक वन उपभोक्ता समूहहरूले उक्त अवधिमा वन संरक्षण तथा व्यवस्थापन, संस्थागत विकास, सामाजिक विकास, विपन्नमुखी कार्यक्रम र प्रशासनिक खर्च लगायतका शीर्षकमा ७९ लाख २७ हजार ९६२ रुपैयाँ खर्च गरेका छन् ।
वन ऐनअनुसार सामुदायिक वन उपभोक्ता समूहले आर्जन गरेको आम्दानीमध्ये कम्तीमा २५ प्रतिशत रकम वनको विकास, संरक्षण तथा व्यवस्थापनमा खर्च गर्नुपर्ने व्यवस्था रहेको छ । यस्तै, ५० प्रतिशत रकम स्थानीय तहसँग समन्वय गरी गरिबी न्यूनीकरण, महिला सशक्तिकरण, आयआर्जन तथा सीपमूलक तालिम जस्ता कार्यक्रमहरूमा खर्च गर्नुपर्ने प्रावधान रहेको डिभिजन वन कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया