३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाको दुर्गा बक्स गण ओखलढुंगाले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै विविध कार्यक्रमका साथ पृथ्वी जयन्ती मनाएको छ ।
पृथ्वी जयन्तीको अवसरमा दुर्गा बक्स गणले सिद्धिचरण नगरपालिका भित्रका चारवटा विद्यालयका विद्यार्थीहरूको सहभागितामा अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा लालीगुराँस इङ्लिस स्कुल प्रथम, सगरमाथा जनता माध्यमिक विद्यालय द्वितीय, शुभलक्ष्मी इङ्लिस स्कुल तृतीय तथा जाल्पा माध्यमिक विद्यालय सान्त्वना स्थानमा रहन सफल भएका छन् । दुर्गा बक्स गणका गणपति विजय प्रकाश आङदेम्बेका अनुसार प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयका विद्यार्थीहरूलाई प्रमाणपत्र सहित स्टेशनरी सामग्री वितरण गरिएको थियो ।
यसै अवसरमा सिद्धिचरण नगरपालिका–४ अन्तर्गत रुम्जाटारस्थित कालिका देवी मन्दिरमा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको सम्झनामा सलामी तथा सम्मान कार्यक्रम समेत गरिएको थियो ।
आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै हरेक वर्ष पुस २७ गते उनको जन्मदिनका अवसरमा नेपाली सेनाले देशभर विभिन्न कार्यक्रम गर्दै आएको दुर्गा बक्स गण ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया