जिल्ला अदालतबाट ८६ मुद्दा फर्छ्याैट

भिजन समाचार
50
Shares

ओखलढुंगा जिल्ला अदालतले चालु आर्थिक वर्षको अर्धबार्षिक अवधिमा ८६ वटा मुद्दा फर्छ्याैट गरेको छ । चालु आर्थिक वर्षको साउन देखि पौष १८ गतेसम्म अदालतले लगतको आधारमा २७ दशमलव ०४ प्रतिशत तथा लक्ष्यको आधारमा ७१ दशमलव ०७ प्रतिशत मुद्दा फर्छ्याैट गरेको हो ।

गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १५२ तथा नयाँ दर्ता भएका १६६ गरी कुल ३१८ मुद्दामध्ये अर्धवार्षिक अवधिसम्म ८६ वटा मुद्दा फर्छ्याैट भएको ओखलढुंगा जिल्ला अदालतकी तहसिलदार सबिना तामाङले जानकारी दिइन् ।

उनका अनुसार चालु आर्थिक वर्षमा नयाँ अनुमानित दर्ता संख्या ३५७, अनुमानित वार्षिक लगत ५०९ र वार्षिक फर्छ्याैट लक्ष्य ३३१ रहेको छ ।

हाल अदालतमा फर्छ्याैट हुन बाँकी मुद्दाको संख्या २३२ रहेको छ । तीमध्ये ६ महिनाभित्रका १२७, ६ देखि १२ महिनाभित्रका ८५, १२ देखि १८ महिनाभित्रका १८ तथा १८ महिना देखि दुई वर्षभित्रका २ वटा मुद्दा रहेका छन् ।

यसैबीच अदालतको अभिलेख व्यवस्थापन प्रणालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने काम पनि तीव्र रूपमा अघि बढाइएको छ । अभिलेख शाखामा रहेका १८ हजार ७३० मिसिलमध्ये ६३ दशमलव १८ प्रतिशत अर्थात् ११ हजार ८३४ मिसिल स्क्यान गरी डिजिटल प्रणालीमा प्रविष्ट गरिएको अदालतले जनाएको छ ।

न्यायमा पहुँच अभिवृद्धिका लागि अदालतले सञ्चारकर्मी, बार एशोसिएसन तथा सरकारी वकिलसँग अन्तरक्रिया, न्यायमा बाह्य पहुँच विस्तार लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सर्वसुलभ र प्रभावकारी न्याय प्रवाहका लागि थप रणनीति तय गर्ने तयारी भइरहेको अदालत श्राेतले जनाएको छ ।