नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति होमनाथ दाहालको गए राति निधन भएको छ ।
केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै निवासमा उपचाररत रहनुभएका ८४ वर्षीय दाहाललाई गए राति हृदयाघात भएपछि उपचारका लागि वीर अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
ओखलढुङ्गा जिल्लाको तत्कालीन बरुणेश्वर गाविसमा जन्मिएका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकका सम्पादक थिए । उनले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का केन्द्रीय सदस्यको रूपमा पनि जिम्मेवारी सम्हालेका थिए ।
उनी पूर्वकृषि, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत भए ।
स्वर्गीय दाहालको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । उनका श्रीमती र दुई छोरा छन् ।
पत्रकारिता, राजनीति र प्रजातान्त्रिक आन्दोलनमा दाहालले पु¥याएकाे योगदानको स्मरण गर्दै विभिन्न संघ–संस्था तथा व्यक्तिहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया