उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ९४ वटा मुद्दा फर्छ्याैट गरेको छ । अदालतले बिहीबार आयोजना गरेको अर्धवार्षिक समिक्षा कार्यक्रममा प्रस्तुत विवरण अनुसार लगतको आधारमा ५४ दशमलव ६५ प्रतिशत र लक्ष्यको आधारमा ९४ प्रतिशत मुद्दा फर्छ्याैट भएको हो ।
अदालतमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ४४ तथा नयाँ दर्ता भएका १२८ गरी कुल १७२ मुद्दामध्ये अर्धवार्षिक अवधिसम्म ९४ वटा मुद्दा टुंग्याइएको जनाइएको छ । अदालतको नयाँ अनुमानित दर्ता संख्या २९७, अनुमानित वार्षिक लगत ३४१ र वार्षिक फर्छ्याैट लक्ष्य २२३ रहेको छ ।
अदालतका रजिष्ट्रार विष्णु प्रसाद पाण्डेले अदालतको सेवालाई नागरिकमैत्री, प्रविधिमैत्री, सहज र सरल बनाउन कोर्टरुम टेक्नोलोजी, टाइम कार्ड प्रणाली, मुद्दा व्यवस्थापन, मिसिल स्क्यान तथा अपलोड, जानकारी पुस्तिका प्रकाशन तथा अंग्रेजी र मातृभाषामा अदालत सेवासम्बन्धी जानकारी दिने गरी वडापत्र प्रकाशन लगायतका काम गरिएको जानकारी दिए ।
मातहतका सबै जिल्ला अदालतले पनि अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेका छन् । जसअनुसार चालु आर्थिक वर्षको साउन देखि पुस १८ गतेसम्म सबैभन्दा बढी मुद्दा फर्छ्याैट गर्ने अदालत खोटाङ जिल्ला अदालत रहेको छ । खोटाङले १३६, ओखलढुंगा जिल्ला अदालतले ८६ र सोलुखुम्बु जिल्ला अदालतले ७८ वटा मुद्दा फर्छ्याैट गरेका छन् ।
कार्यक्रममा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाका मुख्य न्यायाधीश धीरबहादुर चन्दले पछिल्लो समय न्याय क्षेत्र चुनौतीपूर्ण रहे पनि सीमित स्रोत, साधन र कर्मचारी अभावका बाबजुद प्रभावकारी रूपमा न्याय सम्पादन र सेवा प्रवाह गर्न सफल भएको भन्दै अदालतहरूको प्रशंसा गरेका छन् ।
यस्तै, न्यायाधीश अरुणकुमार पजियारले अदालतको सेवा तथा न्याय सम्पादनलाई छिटो, छरितो र विश्वसनीय बनाउन यस्ता समिक्षा कार्यक्रम प्रभावकारी हुने बताए ।
कार्यक्रममा ओखलढुंगा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पराजुली, खोटाङ जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुली, सोलुखुम्बुका चन्द्रकुमार पोखरेल, श्रेस्तेदार, तहसिलदार, कर्मचारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।
यसैबीच बिहीबार नै पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ भने यही पुस २७ गते अवकासमा जान लागेका मुख्य न्यायाधीश चन्दलाई उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगा तथा मातहत अदालतका न्यायाधीश, रजिष्ट्रार, श्रेस्तेदार र कर्मचारीले बिदाइ गरेका छन् ।

प्रतिक्रिया