मादक पदार्थ सेवन गर्ने ३९ चालकलाई कारबाही

भिजन समाचार
194
Shares

ओखलढुंगामा सवारी दुर्घटना न्यूनीकरणका लागि मापसे चेकजाँचमा कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले चालु आर्थिक वर्ष २०८२/०८३ का पहिलो पाँच महिनामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ३९ जना चालकलाई कारबाही गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार साउनदेखि हालसम्म आधुनिक ब्रेथलाइजर प्रयोग गरी गरिएको नियमित मापसे परीक्षणका क्रममा ती चालक कारबाहीमा परेका हुन् ।

जिल्लाका मुख्य चोक, बजार क्षेत्र तथा विभिन्न नाकामा नियमित रूपमा मापसे चेकजाँच भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी सहायक हवल्दार नारायण बस्नेतले जानकारी दिए ।

यसैबीच सिद्धिचरण नगरपालिकाले गत असार मसान्तमा १ लाख ४९ हजार ५०० रुपैयाँ लागतमा आधुनिक ब्रेथलाइजर खरिद गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई उपलब्ध गराएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक बढ्ने भएकाले मापसे विरुद्धको यो अभियानले सडक सुरक्षासँगै आम नागरिकमा जनचेतना अभिवृद्धि गर्ने विश्वास जिल्ला ट्राफिक प्रहरी कार्यालयले व्यक्त गरेको छ ।