बलखुमा बाली र पशु उपचार सेवा पाउँदा किसान हर्षित

भिजन समाचार
34
Shares

ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ बलखुमा विशेषज्ञ मार्फत पशुपन्छी तथा बाली उपचार शिविर सञ्चालन भएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगा र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुंगाको संयुक्त आयोजना तथा वडा कार्यालयको समन्वयमा शनिबार उक्त शिविर आयोजना गरिएको हो ।

शिविरमार्फत १०५ जना कृषकले बाली तथा पशुमा देखिएका रोगसम्बन्धी समस्याबारे विज्ञसँग प्रत्यक्ष परामर्श लिँदै आवश्यक औषधि तथा उपचार सेवा प्राप्त गरेका छन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत बाख्रा जोन सञ्चालन भइरहेको यस क्षेत्रमा ८५ जना कृषकले पालेका ७१५ वटा बाख्रा तथा अन्य पशुका लागि आवश्यक औषधि वितरण गरिएको कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुंगाका निमित्त वरिष्ठ कृषि अधिकृत हेम आले मगरले जानकारी दिए । गाउँमै पुगेर कृषकलाई सहज र सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको उनले बताए ।

यस्तै शिविरमा ५७ जना कृषकले कृषि ज्ञान केन्द्रका विज्ञमार्फत आँप, केरा, सुन्तला, कागती र आलु लगायतका बालीको नमुना परीक्षण गराउँदै आवश्यक परामर्श तथा औषधि–विषादी प्राप्त गरेको कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख पेशल खतिवडाले जानकारी दिए । कृषकलाई कृषि क्षेत्रमा प्रोत्साहन र सहयोग पुर्‍याउने उद्देश्यले दुई निकायले संयुक्त रूपमा शिविर सञ्चालन गरिएको उनको भनाइ छ ।

वडा अध्यक्ष प्रकाश सापकोटाले गाउँमै आएर कृषकलाई विशेषज्ञ सेवा उपलब्ध गराएकोमा आयोजक टोलीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता शिविर निरन्तर सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

गाउँमै विशेषज्ञबाट पशुबस्तु र बालीको उपचार गराउन पाउँदा खुसी लागेको स्थानीय कृषक ज्ञानबहादुर घिमिरेले बताए । कृषकहरूले आगामी दिनमा पनि यस्ता शिविर निरन्तर सञ्चालन गर्न माग गरेका छन् । पहिलाे पटक शिविर संचालहुदा खुशी लागेकाे स्थानिय ज्ञानु घिमिरेले बताए । आवश्यकता अनुसार आगामी दिनमा पालिका बाटै शिविर संचालन गरिने उपाध्यक्ष सुनिता अधिकारीले बताईन् । बलखुमा आँम ब्लक कार्यक्रम लागुभएकाे छ ।