जिल्लामा घटेका दुई वटा विभत्स हत्या तथा लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अभियुक्तहरूलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पहिलो घटना सिद्धिचरण नगरपालिका–४ चार्खुमा २०८२ असोज २६ गते राति करिब १२ बजे भएको थियो । स्थानीय ५२ वर्षिय रत्न कुमारी कटवाल (कार्की)को घरमा प्रवेश गरी धारिलो हतियार प्रहार गरेर उनको हत्या गरिएको र घरमा रहेको नगद तथा गरगहना लुटपाट गरिएको थियो ।
दोस्रो घटना चिशंखुगढी गाउँपालिका–६ भदौरेमा पाँच दिन अघि मगर दम्पतीकाे बीभत्स हत्या भएकाे थियाे । स्थानीय ६० वर्षिय शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरमाथि कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
अभियुक्तहरूले उनीहरूको घरबाट सुनचाँदी, नगद तथा मोबाइलसमेत लुटपाट गरेका थिए ।
दुवै घटनामा संलग्न भएकाे आराेपमा प्रहरीले चार जना युवकलाई पक्राउ गरेकाे छ । उनिहरुलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने प्रहरीले तयारी गरेकाे छ ।
पक्राउ परेकामाथि कर्तव्य ज्यान, डाँका तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा जिल्ला अदालत ओखलढुंगाबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया