ओखलढुंगामा सञ्चालनमा रहेको आप्रवासी श्रोत केन्द्रबाट एक हजारभन्दा बढी युवालाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी परामर्श प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयसँगै रहेको केन्द्रबाट हालसम्म एक हजार ८ सय १९ जनाले परामर्श सेवा लिएका छन् ।
आर्थिक वर्ष २०८१/०८२ को मंसिर २० गतेदेखि सञ्चालनमा आएको केन्द्रबाट एक हजार २५५ जना पुरुष र ५६४ जना महिलाले परामर्श लिएको आप्रवासी श्रोत केन्द्रकी परामर्शकर्ता राधा बस्नेतले जानकारी दिइन् ।
परामर्श लिने मध्ये ८७० जना पुरुष र ४१० जना महिला गरी जम्मा एक हजार २८० जना वैदेशिक रोजगारीमा जान इच्छुक रहेको केन्द्रले जनाएको छ । वैदेशिक रोजगारीमा जानुअघि आवश्यक प्रक्रिया, कानुनी व्यवस्था र जोखिमबारे परामर्श लिएर गएमा ठगी तथा विभिन्न समस्याबाट जोगिन सकिने भएकाले केन्द्रले परामर्श सेवामा विशेष जोड दिएको परामर्शकर्ता बस्नेतले बताइन् ।
केन्द्र स्थापना भएयता हालसम्म वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका चार जनाको शव नेपाल ल्याउने प्रक्रिया तथा ठगीमा परेका नौ वटा घटनासम्बन्धी गरी जम्मा १३ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये तीन जनाको शव केन्द्रको पहलमा नेपाल ल्याइसकिएको छ भने ठगीमा परेकाहरूको रकम फिर्ताका लागि आवश्यक पहल भइरहेको केन्द्रले जनाएको छ ।
सुरक्षित, व्यवस्थित र सचेत वैदेशिक रोजगारीका लागि युवाहरूलाई परामर्श लिएर मात्र विदेश जान केन्द्रले आग्रह गरेको छ ।

प्रतिक्रिया