ओखलढुंगाकाे सदरमुकाम लगायत विभिन्न बजारमा जति पटक अनुगमन गरेपनि म्याद गुज्रिएकाे अखाद्ध वस्तु फेला पर्ने क्रम राेकिएकाे छैन । सिद्धिचरण नगरपालिका–४ रुम्जाटार र वडा नम्बर–५ सानीटार क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा १२ हजार ७० रुपैयाँ बराबरको म्याद गुज्रिएको अखाद्य सामग्री फेला परेको छ ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत रोशन श्रेष्ठको संयोजकत्वमा बुधबार रुम्जाटार र सानीटार क्षेत्रका १४ वटा खाद्यान्न तथा किराना पसल अनुगमन गरिएको हो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, करदाता सेवा कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, सिद्धिचरण नगरपालिका, सुरक्षा निकाय तथा पत्रकारको सहभागिता थियो ।
अनुगमनका क्रममा म्याद गुज्रिएका अखाद्य सामग्री जफत गरी तत्काल नष्ट गरिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए । व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका वस्तु बिक्री गर्ने लगायतका गुनासो निरन्तर आउन थालेपछि सदरमुकाम बाहिरका ग्रामीण क्षेत्रसम्म समेत बजार अनुगमनलाई थप सक्रिय बनाइएको उनले बताए ।
यस पटक अघिल्ला वर्षहरूको तुलनामा कम मात्रामा म्याद गुज्रिएका सामान भेटिए पनि अनुगमन गरिएका अधिकांश पसलबाट बालबालिकाले बढी मन पराउने कुरमुरे, चिजबल, पोट्याटो क्र्याकर, जंक फुड तथा क्याम्पा जस्ता पेय पदार्थ म्याद गुज्रिएको अवस्थामा फेला परेको प्रशासनले जनाएकाे छ ।
म्याद गुज्रिएका अखाद्य वस्तु उपभोग गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले गुणस्तरीय तथा म्यादभित्रका सामग्री मात्र खरिद–बिक्री गर्न उपभोक्ता, व्यापारी तथा विशेषगरी अभिभावकलाई आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सदरमुकामदेखि ग्रामीण भेगसम्म नियमित बजार अनुगमनलाई निरन्तरता दिइने जनाएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री बिक्री गर्ने, मूल्य सूची नराख्ने तथा दर्ता तथा नवीकरण नगरेका पसललाई कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

प्रतिक्रिया