आधारभूत अस्पताल लिखुमा एमबिबिएस डाक्टर मार्फत उपचार सेवा


ओखलढुंगाको लिखु गाउँपालिकामा निर्माण सम्पन्न भएको आधारभूत अस्पतालबाट औपचारिक रूपमा एमबिबिएस डाक्टर मार्फत स्वास्थ्य दिइएको छ । लिखु गाउँपालिका–४ कुपिण्डेमा रहेके अस्पताल भवन निर्माण सम्पन्न भई गाउँपालिकालाई हस्तान्तरण भएपछि उपचार सेवा प्रवाह भइरहेको हो ।

अस्पताल सञ्चालनमा आएको एक महिना बढी भइसकेको र हाल ओपिडी, आकस्मिक (इमर्जेन्सी), आयुर्वेद सेवा तथा आँखा जाँचका साथै ल्याव, एक्स–रे र अल्ट्रासाउन्ड सेवा सञ्चालनमा रहेको अस्पताल इन्चार्ज आकाश जैसवालले जानकारी दिए । उनका अनुसार अस्पतालबाट दैनिक २० देखि ३० जनासम्म सेवाग्राहीले उपचार सेवा लिने गरेका छन् ।

ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमै सर्वसुलभ र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको लिखु गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले बताए । अस्पताल सञ्चालनमा आएसँगै पालिकाबासीले २४ सै घण्टा इमर्जेन्सी सेवा, जोखिमपूर्ण प्रसूति, ल्याव, एक्स–रे, अल्ट्रासाउन्ड, मानसिक रोगको परामर्श, जटिल रोगको पहिचान तथा परामर्श र एमबिबिएस डाक्टरबाट रोगको चेकजाँच, औषधि, उपचार र परामर्श लिन टाढा जानुपर्ने बाध्यता हटेको अध्यक्ष कार्कीको भनाइ छ ।

आगामी दिनमा आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गर्दै अस्पतालबाट प्रदान गरिने सेवाहरू थप विस्तार गर्ने विषयमा छलफल भइरहेको अध्यक्ष कार्कीले जानकारी दिए । अस्पताल सञ्चालनमा आएपछि सामान्य स्वास्थ्य समस्याको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेकाे छ ।

संघीय सरकारको ७ करोड २३ लाख ८२ हजार ९९४ रुपैयाँ ६४ पैसा (भ्याटसहित) लागतमा ठेक्का प्रक्रियामार्फत गौरा–बङ्गलामुखी जेभी कम्पनीले अस्पताल भवन निर्माण गरेको हो ।