रुम्जाटार बौद्ध गुम्बामा काग्युर (त्रिपिटक) पाठ वाचन

भिजन समाचार
36
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ रुम्जाटारस्थित बौद्ध गुम्बामा पहिलो पटक काग्युर (त्रिपिटक) पाठ वाचन गरिएको छ । गुम्बाको इतिहासमै पहिलोपटक भगवन गौतम बुद्धले प्रतिपादन गरेकाे धर्मदेशना उपदेशहरूको अनुवादित सूत्र काग्युर (त्रिपिटक) पाठ वाचन गरिएको हो ।

भाईचाराको शुभ–सन्देश प्रवर्द्धन, पञ्चशीलको सन्देश फैलाउने र विश्व शान्तिको कामनासहित पौष ५ गतेदेखि १२ गतेसम्म आठ दिन निरन्तर काग्युर पाठ वाचन गरिएको गुम्बाका प्रमुख लामा खेन्पो पाल्देन दोर्जे गुरुङले जानकारी दिए ।

उनका अनुसार स्थानीय बौद्ध समुदायको सक्रिय पहलमा आयोजना गरिएको यस कार्यक्रम बौद्ध समुदाय, श्रद्धालु तथा दाताहरूको सहयोगमा सफलतापूर्वक सम्पन्न भएको हो । आगामी दिनमा पनि यस्ता धार्मिक तथा आध्यात्मिक कार्यक्रमलाई निरन्तरता दिँदै समाजमा शान्ति, सहअस्तित्व र नैतिक मूल्य प्रवर्द्धन गर्ने लक्ष्य लिइएको रुम्जाटार बौद्ध गुम्बा फाउन्डेसनका अध्यक्ष क्याप्टेन मोहनकुमार गुरुङले बताए ।

कार्यक्रमका अवसरमा श्रद्धेय आवतारी टुल्कु शेरब शाङ्पो रिन्पोछेले सहभागी श्रद्धालुहरूलाई आयु अभिषेक प्रदान गर्दै धर्म, करुणा र सदाचारको मार्ग अवलम्बन गर्न आग्रह गरे ।

रुम्जाटार गुम्बामा पहिलो पटक काग्युर पाठ वाचन हुनुलाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै स्थानीय राजदेवी गुरुङले यस कार्यक्रमले बौद्ध धर्म तथा संस्कृति संरक्षण–प्रवर्द्धनसँगै भावी पुस्तामा बौद्ध धर्मप्रतिको आस्था अझै बढाउने विश्वास व्यक्त गरे । कार्यक्रममा सहयोग गर्ने दाताहरूलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।