ओखलढुंगामा सरकारी सवारीको मनपरी प्रयोगमा राेक, अब बिदामा हिँड्नुपर्‍यो भने अनिवार्य पास

भिजन समाचार
248
Shares

सरकारी सवारी साधनलाई निजी गाडीझैँ दुरुपयोग गर्ने प्रवृत्तिमाथि रोक लगाउँदै ओखलढुंगामा ‘सरकारी सवारी साधनहरूको सञ्चालन सम्बन्धी कार्यविधि २०७७’ लाई कडाइका साथ अद्यावधिक गरिएको छ ।

कार्यविधिको प्रथम संशोधन २०८२ पौष ४ गते जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको संयोजकत्वमा बसेको कार्यालय प्रमुखहरूको बैठकले पारित गरेको हो ।

संशोधित कार्यविधि अनुसार अब स्थानीय तहसहित सबै सरकारी निकायले सरकारी सवारी साधन केवल सरकारी कामका लागि मात्र प्रयोग गर्नुपर्नेछ ।
बिदाका दिन सकेसम्म सरकारी सवारी चलाउन नपाइने र अत्यावश्यक अवस्थामा बिदामा सरकारी सवारी प्रयोग गर्नुपरेमा जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य सवारी पास लिएर मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै प्रत्येक सरकारी सवारीमा लगबुक अनिवार्य राख्नुपर्ने, पासमा तोकिएको समयभित्र काम सकेर जिल्लामा प्रवेश गरिसक्नुपर्ने प्रावधान राखिएको छ । दुर्गम स्थानीय तह तथा कार्यालयले भने इमेलमार्फत समेत सवारी पास लिन सक्ने सुविधा पाउनेछन् ।

प्रमुख जिल्ला अधिकारी मंग्रातीले सरकारी स्रोत–साधनको सदुपयोग सुनिश्चित गर्न, अनावश्यक खर्च नियन्त्रण गर्न र बढ्दो दुरुपयोगका गुनासोलाई सम्बोधन गर्न कार्यविधि संशोधन गरिएको बताए ।

उनका अनुसार सरकारी सवारी निजी प्रयोजनमा प्रयोग गर्ने प्रवृत्ति नियन्त्रण बाहिर जान थालेपछि अब स्पष्ट नियम बनाएर कार्यान्वयनमा कडाइ गरिनेछ ।
नियम विपरीत सरकारी सवारी प्रयोग भएको पाइएमा सम्बन्धित जिम्मेवार पदाधिकारीमाथि आवश्यक कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।

संशोधित कार्यविधि कार्यान्वयन सँगै ओखलढुंगामा सरकारी गाडी अब मनपरी होइन, नियम, अनुशासन र जवाफदेहिताको दायरामा चल्ने अपेक्षा गरिएको छ ।