दुम्सी खोज्ने क्रममा दुम्सी लुक्ने ओडार भित्र अड्किएका व्यक्तिको सकुशल उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रहरी सहायक निरीक्षक (असई) रमेश प्रसाद पटेल मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
प्रहरी चौकी श्रीचौर दरबन्दी भई हाल प्रहरी चौकी ताप्केडाँडामा कार्यरत असई पटेललाई उत्कृष्ट कार्यसम्पादनको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सम्मान गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार जिल्लाभित्र तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुले सम्पादन गरेका कार्यको उचित मूल्याङ्कन गर्दै कार्यसम्पादनमा प्रभावकारिता अभिवृद्धि र थप हौसला प्रदान गर्ने उद्देश्यले प्रत्येक महिना उत्कृष्ट प्रहरी घोषणा गरिँदै आएको छ ।
गत मंसिर महिनामा चम्पादेवी गाउँपालिका–३ तिलबारीका ५५ वर्षीय रामबहादुर तामाङ सोही वडाको जंगलमा दुम्सी खोज्ने क्रममा ओडारभित्रको सुरुङमा फसेका थिए । घटनाको जानकारी पाउनासाथ असई पटेलको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा जोखिम मोलेर तामाङको सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको थियो ।
यसैगरी स्थानीय जनप्रतिनिधिसँग समन्वय तथा सहकार्य गर्दै विभिन्न सचेतनामूलक कार्यक्रममा सक्रिय भूमिका निर्वाह गर्नुका साथै पदीय जिम्मेवारी त्रुटीरहित ढंगबाट सम्पन्न गरेकाले असई पटेललाई मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित गरी सम्मान गरिएको प्रहरी प्रमुख केसीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले असई पटेलको कार्यले प्रहरी संगठनभित्र सकारात्मक सन्देश प्रवाह भएको र अन्य प्रहरी कर्मचारीलाई समेत जिम्मेवार र सेवामुखी बन्न प्रेरणा मिलेको विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया