पछिल्ला तीन वर्षको अवधिमा ओखलढुंगाबाट १२ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेशिएका छन् । तीन आर्थिक वर्षको तथ्यांक अनुसार १२ हजार १३९ जना युवा वैदेशिक रोजगारीमा गएका हुन् ।
ओखलढुंगामा हालै आयोजित एक कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत कृष्ण हुमागाईले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् । उनका अनुसार तीन आर्थिक वर्षमध्ये सबैभन्दा धेरै युवा गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा गएका छन् ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा पाँच हजार ३४६ जना, २०८०/८१ मा चार हजार ९५३ जना तथा चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्म एक हजार ८४० जना युवा विदेशिएका छन् ।
गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा गएका पाँच हजार ३४६ जनामध्ये आठ जनाले ज्यान गुमाएका छन् भने चार जना अंगभंग भएका छन् । यस्तै, अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विदेशिएका चार हजार ९५३ जनामध्ये नाैं जनाको मृत्यु भएको र पाँच जना अंगभंग भएको तथ्यांक छ ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म विदेशिएका एक हजार ८४० जनामध्ये दुई जनाले ज्यान गुमाएका छन् भने दुई जना अंगभंग भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
कार्यक्रम अधिकृत हुमागाईले वैदेशिक रोजगारीमा जानुअघि सही सूचना लिन, अनिवार्य रूपमा श्रम स्वीकृति लिन, सीपमूलक तालिम हासिल गर्न, वैधानिक प्रक्रिया पूरा गर्न तथा बीमा अनिवार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया