बाख्रापालन व्यवसाय अनुगमन गर्न ओखलढुंगा आए कृषि मन्त्री परियार

भिजन समाचार
168
Shares

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियार बाख्रापालन व्यवसायको अनुगमनका लागि ओखलढुंगा आएका छन् । मन्त्री परियारले युवालाई स्वरोजगार बनाएर गाउँमै रोक्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ सोदुङमा कृषि क्षेत्रमा भएका कामको अनुगमनका क्रममा मन्त्री परियारले दिनानुदिन युवाहरु वैदेशिक रोजगारीतर्फ जाने क्रम बढ्दै जाँदा गाउँ रित्तिँदै गएको उल्लेख गरे । त्यसलाई रोक्न कृषिमा अनुदान तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो ।

साबिक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत हाल सञ्चालनमा रहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगाबाट १० लाख रुपैयाँ अनुदानमा सञ्चालन भएका कामको अवलोकन गर्दै मन्त्री परियारले कृषिमा जोस, जाँगर र अवसर भए देशमै राम्रो सम्भावना रहेको बताए । सरकारले परियोजनामार्फत आगामी दिनमा पनि अनुदानका कार्यक्रमलाई निरन्तरता दिने पहल गरिरहेको उनले जानकारी दिए ।

स्थानीय युवा मोतीराज राईले वैदेशिक रोजगारीबाट फर्किएर विगत १० वर्षदेखि गाउँमै व्यवसायीक रुपमा बाख्रापालन गर्दै आएको र परियोजनाबाट अनुदान पाएपछि व्यवसाय सञ्चालन थप सहज भएको बताए । यस्तै स्थानीय कृषक सिंहबहादुर राई र धनकुमारी राईले पनि कृषकको प्रयाससँगै परियोजनाको अनुदानले आम्दानी बढाउन सहयोग पुगेको प्रतिक्रिया दिए । उनीहरूले वार्षिक लाखौँ रुपैयाँ कृषि तथा पशुपालनबाटै आयआर्जन गर्न सकिने भएकाले गाउँमै सम्भव रहेको बताएका छन् ।

अनुदानबाट निर्माण गरिएका खोर, प्रविधि तथा संरचनाको अवलोकन गर्दै मन्त्री परियारले काम निकै उत्कृष्ट भएको भन्दै कृषकहरूको मेहनतको प्रशंसा गरे ।

जिल्लाका कृषकहरूको जीविकोपार्जन विकासमा अनुदान कार्यक्रम प्रभावकारी रहेको जानकारी गराउँदै कार्यक्रम कार्यान्वयन एकाईका निमित्त वरिष्ठ कृषि अधिकृत हेम आले मगरले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन कृषि मन्त्रीसँग आग्रह गरे ।

अनुगमन कार्यक्रममा कृषि मन्त्री परियारसहित जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक मदन केसी, कार्यक्रम कार्यान्वयन एकाई प्रमुख मगर, कृषि ज्ञान केन्द्र ओखलढुंगाका बागबानी विकास अधिकृत टिका बानियाँ लगायतको सहभागिता रहेको थियो ।