काठमाडौं । लिम्बू साहित्यकार निशेष आङदेम्बेको निबन्धसम्बन्धी सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति ‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक गरिएको छ ।
सिरिजङ्गा लिपिमा प्रकाशित उक्त कृति मुन्धुम बुटिक एण्ड मेक्ख्ली हाउसद्वारा प्रकाशन गरिएको हो ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कृतिको लोकार्पण गरिएको थियो । कार्यक्रममा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, मुन्धुमविद यहाङ लाओती, साहित्यकार राधिका हुक्पा चोङबाङ, नेपाल प्रहरीका पूर्व प्रमुख चन्द्रकुबेर खापुङलगायतले संयुक्त रूपमा कृति सार्वजनिक गरेका थिए ।
कृतिमाथि प्राज्ञ अमर तुम्याहाङ, भिमा खजुम र डिबी आङबुङले टिप्पणी गरेका थिए ।
यो साहित्यकार आङदेम्बेको चौथो कृति हो । यसअघि उनका गजल तथा निबन्ध सङ्ग्रह प्रकाशित भइसकेका छन् भने विभिन्न अन्तर्राष्ट्रिय घोषणापत्रहरू पनि लिम्बू भाषामा अनुवाद गरेका छन् ।
पुस्तकमा पश्चिमी, पूर्वीय, नेपाली तथा याक्थुङ (लिम्बू) साहित्यमा निबन्धको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ । साथै लिम्बू निबन्धको इतिहास, सैद्धान्तिक पक्ष र विभिन्न १६ जना स्रष्टाका निबन्धहरू समेटिएका छन् ।

प्रतिक्रिया