कुइभिरमै बाली तथा पशुपंछीको विशेषज्ञ मार्फत उपचार

भिजन समाचार
102
Shares

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–१ कुइभिरमा पशुपंछी तथा बाली उपचार शिविर सञ्चालन गरिएको छ ।

कृषि ज्ञान केन्द्र ओखलढुंगा, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाको संयुक्त आयोजना तथा वडा कार्यालयको समन्वयमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा कृषकहरुले पशुपंछी तथा बालीका लागि औषधि, उपचार तथा परामर्श सेवा लिएका छन् । कृषि ज्ञान केन्द्र ओखलढुंगाको टोलीमार्फत बाली उपचार, रोग तथा किरा पहिचान, विशेषज्ञ प्राविधिक सल्लाह र औषधि वितरण गरिएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख पेशल खतिवडाले जानकारी दिए ।

शिविरमा कृषकहरुले कागती, सुन्तला, केरा, खुर्सानी लगायतका बालीको परीक्षण गराएर आवश्यक औषधि प्राप्त गरेका थिए । यस्तै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगाले बाख्रा जोन सञ्चालन भएको उक्त क्षेत्रमा बाख्राको स्वास्थ्य जाँच, उपचार तथा औषधि सेवा प्रदान गरेको इकाईका निमित्त वरिष्ठ कृषि अधिकृत हेम आले मगरले बताए ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाले गाई–गोरु, भैँसी, बाख्रा, कुकुर लगायतका पशुपंछीको स्वास्थ्य परीक्षण गरी आवश्यक उपचार, परामर्श तथा औषधि वितरण गरेको अस्पताल प्रमुख डा. गणेश भट्टराईले जानकारी दिए ।

कृषकहरुलाई पशु तथा बालीमा देखिएका रोग–समस्या पहिचान र उपचारका लागि पालिकाको कृषि शाखा वा जिल्ला सदरमुकाम पुग्न कठिनाइ हुने भएकाले सहजताका लागि गाउँमै विशेषज्ञसहितको शिविर सञ्चालन गरिएको आयोजक तीन वटै कार्यालयका प्रमुखहरुले बताएका छन् ।

शिविरको उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य केशव राई प्रमुख अतिथि, गाउँपालिका अध्यक्ष निशान्त शर्मा विशेष अतिथि तथा वडा अध्यक्ष उषक कटवालले गाउँमै आएर कृषकलाई सेवा प्रदान गर्नु सह्राननीय कार्य भएको बताए ।

सहज र सर्वसुलभ रूपमा गाउँमै विशेषज्ञबाट पशुबस्तु र बालीको उपचार गराउन पाउँदा खुसी लागेको स्थानीय कृषक माधवप्रसाद फुयालले बताए । आगामी दिनमा पनि यस्ता शिविर निरन्तर सञ्चालन गर्न कृषकहरुले माग गरेका छन् ।