ओखलढुंगामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि गरिएको कारबाहीबाट पाँच महिनामा १४ लाखभन्दा बढी राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म एक हजार ३०७ वटा सवारी साधनलाई कारबाही गर्दा १४ लाख ८३ हजार रुपैयाँ राजश्व संकलन गरिएको हो ।
कार्यालयको तथ्यांकअनुसार साउन महिनामा ३७१, भदौमा २६९, असोजमा ८२, कात्तिकमा २०९ र मंसिरमा ३७६ वटा सवारी साधन कारबाहीमा परेका छन् ।
यस्तै, साउन महिनामा ४ लाख ७ हजार, भदौमा २ लाख ८१ हजार, असोजमा ९७ हजार ५ सय, कात्तिकमा २ लाख ५६ हजार र मंसिरमा ४ लाख ४१ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवं प्रहरी वरिष्ठ नायव निरीक्षक लेखनाथ खनालले जानकारी दिनुभयो ।
कारबाहीमा पर्ने सवारीमध्ये अधिकांश ट्राफिक नियम उल्लंघन गर्ने, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तथा सवारीका आवश्यक कागजपत्र साथमा नबोक्ने रहेका छन् ।
ट्राफिक नियम उल्लंघनकै कारण दुर्घटना हुने जोखिम बढ्ने भएकाले चेकजाँच र सवारी चालक तथा यात्रुमा सचेतना अभिवृद्धिमा जोड दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया