पहिरे खोलामा मोटरेबल पुल निर्माण कार्य सुरु

भिजन समाचार
136
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिका–२ स्थित पहिरे खोलामा मोटरेबल पुल निर्माणको काम औपचारिक रूपमा सुरु भएको छ । आइतबारदेखि पुल निर्माण कार्य अघि बढाइएको हो ।

पूर्वाधार विकास कार्यालय ओखलढुंगाका प्रमुख सुरेश प्रसाद साहका अनुसार हाल पुल निर्माणका लागि आवश्यक पूर्वतयारीका काम भइरहेको छ । पहिलो चरणमा ग्याबिन तारजाली लगाउने काम भइरहेको र त्यसपछि डाइभर्सन निर्माण गरी मुख्य पुल निर्माणको काम थालिने उनले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षका लागि प्रदेश सरकारबाट पुल निर्माणका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो योजना दुई वर्षे रहेको र पुल निर्माणका लागि कुल लागत करिब तीन करोड ७२ लाख ६६ हजार रुपैयाँ (भ्याटसहित) मा ठेक्का सम्झौता भइसकेको छ ।

वर्षौंदेखि पहिरे खोलामा पुल नहुँदा स्थानीय बासिन्दा आवतजावतमा सास्ती भोग्दै आएका थिए । पुल निर्माण सुरु भएसँगै अब आवागमन सहज हुने र स्थानीयको लामो समयदेखिको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।