लिखुः राष्ट्रपति रनिङ शिल्डको उपाधि ग्रामोदय युगकवि सिद्धिचरण माविलाई

भिजन समाचार
54
Shares

ओखलढुंगाको लिखु गाउँपालिकामा सम्पन्न सातौँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालय लिखु–६ ले जितेको छ ।

प्रतियोगितामा १२ स्वर्ण, दुई रजत र पाँच कास्य गरी कुल १९ पदक प्राप्त गर्दै ग्रामोदय युगकवि सिद्धिचरण मावि पहिलो स्थानमा रहन सफल भएको हो । यस्तै जनजीवन माध्यमिक विद्यालय, लिखु–९ वाच्पु (पोकली) ले चार स्वर्ण, छ रजत र १० कास्यसहित कुल २० पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ । तीन स्वर्ण, आठ रजत र एक कास्यसहित १२ पदक प्राप्त गरेको यसम माध्यमिक विद्यालय लिखु–४ तृतीय भएको छ ।

प्रतियोगितामा आठ वटा माध्यमिक विद्यालय तहका विद्यालयहरूको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेता विद्यालयका खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष अशोककुमार कार्कीले शिल्ड तथा पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।