ओखलढुंगामा ३१ हजारभन्दा बढी पशुचौपायालाई खोरेत विरुद्ध खोप


ओखलढुंगामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।

कार्तिक २३ गतेबाट शुरु गरिएको अभियान जिल्लाका सबै आठ स्थानीय तहमा विस्तार गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी धिरेन राईका अनुसार सिद्धिचरण नगरपालिकामा पाँच हजार ४११, चम्पादेवी गाउँपालिकामा दुई हजार ७०२, सुनकोशी गाउँपालिकामा तीन हजार ५३४, लिखु गाउँपालिकामा पाँच हजार ५९३, चिशंखुगढी गाउँपालिकामा पाँच हजार ८२९, मोलुङ गाउँपालिकामा चार हजार ७१६, मानेभञ्जाङ गाउँपालिकामा तीन हजार ४७४ र खिजीदेम्बा गाउँपालिकामा ३८८ पशुलाई खोरेत विरुद्धको खोप लगाइएको छ ।

राईका अनुसार भौगोलिक विकटता र दुर्गम बस्तीमा पहुँच चुनौतीपूर्ण भएकाले तोकिएको समयमा खोप अभियान पूर्ण रूपमा सम्पन्न गर्न नसकिएको र अभियानको समय थप गरी खोप लगाउने कार्य निरन्तर जारी रहने जानकारी दिइएको छ ।

जिल्लाभर खोप अभियान चलाइएपछि खोरेत रोगको जोखिम घट्ने तथा पशु स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको केन्द्रले जनाएको छ ।