ओखलढुंगाका ६७० स्वयंसेविकालाई पाँच हजार प्रोत्साहन भत्ता

भिजन समाचार
458
Shares

ओखलढुंगाका ६७० महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई जनही पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता वितरण गरिने भएको छ । कोशी प्रदेश सरकारले २२ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा स्वास्थ्य सेवामा सक्रिय रूपमा जुट्दै आएको योगदानको कदरस्वरूप उक्त भत्ता उपलब्ध गराउन लागेको हो ।

स्वयंसेविकाहरूको निरन्तर लगनशीलता, समर्पण र समुदायमा स्वास्थ्य सेवा विस्तारमा निभाएको भूमिकाको सम्मानस्वरूप प्रोत्साहन दिने निर्णय गरिएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका सूचना अधिकारी विवेक पोखरेलले बताएका छन् । उनका अनुसार भत्ता केही दिनमै सम्बन्धित पालिकाको खातामा पठाइने र पालिकामार्फत स्वयंसेविकालाई वितरण गरिनेछ ।

स्वास्थ्य शिक्षा, जनचेतना, खोप अभियान, पोषण कार्यक्रमदेखि घरदैलो स्वास्थ्य सेवा विस्तारसम्म स्वयंसेविकाको सक्रिय भूमिकाले जिल्लाको मातृ–शिशु स्वास्थ्य स्थिति सुधार गर्न महत्वपूर्ण योगदान पु¥याएको जिल्ला स्वास्थ्य प्रमुख मनिषा मोक्तानले बताइन् । उनका अनुसार प्रोत्साहन भत्ताले स्वयंसेविकाको उत्साह र प्रेरणामा थप वृद्धि हुने विश्वास लिइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले सबै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको निःशुल्क बीमा कार्यक्रम समेत निरन्तर सञ्चालन गर्दै आएको छ ।