ओखलढुंगामा अनलाइन सिफारिस मार्फत नागरिकता वितरण सुरु


ओखलढुंगामा नेपाली नागरिकताको सिफारिस अब अनलाइन प्रणालीबाट हुने भएको छ । परम्परागत कागजी प्रक्रिया हटाउँदै प्रविधिमैत्री सेवा सुरु भएपछि नागरिकता प्राप्ति झन्झटमुक्त र छिटो–छरितो बनेको हो ।

जिल्लामै पहिलोपटक वडाबाट अनलाइन सिफारिस लिएर नागरिकता वितरण भएको प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले जानकारी दिए । चिशंखुगढी गाउँपालिका–३ का सन्तोष धौलाकोटीलाई आइतबार अनलाइन सिफारिसको आधारमा नागरिकता प्रदान गर्दै नयाँ प्रणाली औपचारिक रूपमा लागू गरिएको हो ।

सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिकाका सबै वडामा मंसिर ११ गतेदेखि अनिवार्य अनलाइन सिफारिस मार्फत नयाँ नागरिकताको अनुसूची तयार गरिने व्यवस्था सुरु भइसकेको मंग्रातीले बताए ।

नयाँ प्रणाली लागू भएसँगै सेवाग्राहीले अब सिफारिसका कागजात बोकेर जिल्ला वा इलाका प्रशासन कार्यालय धाउनुपर्ने छैन । स्थानीय तहले सफ्टवेयरमा प्रविष्ट गरिदिएका विवरण गृह मन्त्रालय अंतर्गत नागरिकता फाँटमा स्वचालित रूपमा पुग्ने भएकाले नागरिकता वितरण प्रक्रिया सहज र छरितो हुने प्रशासनले जनाएको छ ।

जिल्लाका बाँकी स्थानीय तहहरूमा पनि चाँडै नै अनलाइन प्रणाली विस्तार गर्दै सबै वडाबाट सिफारिस सेवा अनलाइनमै उपलब्ध गराइने योजना जिल्ला प्रशासन कार्यालयले अघि सारेको छ ।