जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आर्थिक वर्ष २०८२/८३ को चार महिनाको अवधिमा विभिन्न अपराधमा संलग्न भई अदालतको सजायबाट फरार रहेका २३ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । फरार प्रतिवादी खोजी तथा पक्राउ अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको प्रहरीको प्रयासले उल्लेखनीय नतिजा दिएको हो ।
जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन केसीका अनुसार पक्राउ परेका २३ जनाबाट जम्मा १४ वर्ष १ महिना २३ दिन कैद तथा १९ लाख ३७ हजार ५० रुपैयाँ जरिवाना असुल गरिएको छ । अदालतबाट सजाय तोकिएर वर्षौंदेखि लुकीछिपी बसेका व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरी विशेष रणनीतिसहित परिचालन भएको उनले बताए ।
फरार प्रतिवादीहरूको खोजीका लागि प्रहरीले छुट्टै विशेष टोली गठन गरी गोप्य सूचना, प्रविधिको प्रयोग र स्थानीयको सहयोगमार्फत अभियान अघि बढाएको थियो ।
ओखलढुंगा प्रहरीले फरार अपराधीलाई नियन्त्रणमा लिन निरन्तर अभियान सञ्चालन गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालयले आगामी दिनमा पनि खोजी तथा पक्राउ अभियानलाई अझै प्रभावकारी बनाइ निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया