डिआइजी र सरोकारवालाकाे ओखलढुंगामा अन्तरक्रिया: शान्ति–सुरक्षा सुदृढिकरणमा प्रतिबद्धता

भिजन समाचार
6
Shares

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी ईश्वर कार्कीले ओखलढुंगामा सरोकारवालासँग अन्तरक्रिया गरेका छन् । जिल्लाका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरू र सरोकारवालासँग शान्ति–सुरक्षा विषयमा उनले छलफल गरेका हुन् ।

निरीक्षण भ्रमणका क्रममा जिल्ला प्रहरी कार्यालय ओखलढुंगा आएका डिआइजी कार्कीले जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराई, सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनाल लगायत सरोकारवालासँग छलफल गर्दै समाजमा दीर्घकालीन शान्ति र स्थायित्व कायम राख्न प्रहरी र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताए ।

‘प्रहरी सधैं जनताको सुरक्षाका लागि तैनाथ छ, तर अपराधमुक्त र शान्त समाज निर्माणका लागि नागरिकको साथ, विश्वास र हौसला उत्तिकै आवश्यक छ ।’ डिआइजी कार्कीले भने ।

प्रहरी–नागरिकबीच आपसी विश्वास र सहकार्यका सम्बन्ध सुदृढ हुँदै गएमा समाजमा शान्ति, सुव्यवस्था र सुशासन स्थापनामा टेवा पुग्ने उनले विस्वास व्यक्त गरेका छन् ।

अन्तरक्रियामा जिल्ला समन्वय समिति प्रमुख भट्टराई, मेयर खनाल, नागरिक समाजका अगुवाहरू र विभिन्न दलका प्रतिनिधिहरूले जिल्लाको शान्ति–सुरक्षाको अवस्था, प्रहरीको सक्रियता र जनसहयोगको भूमिका प्रशंसनीय रहेको धारणा राखेका थिए । साथै पछिल्ला दिनमा जेनजी आन्दोलन पछि बढेको सुरक्षा चुनौति, आगामी निवाचन, लागुऔषध दुव्र्यसन, आत्महत्या र आपराधिक घटनामा आएको वृद्धि रोकथामका लागि ठोस कदम चाल्न सरोकारवालाले आग्रह गरेका थिए । यस्तै दरबन्दी अनुसार प्रहरी कर्मचारी खटाउन, केहि आवश्यक स्थानमा प्रहरी बिट राख्न पनि आग्रह गरेका थिए ।

जिज्ञासाहरूको जवाफ दिँदै डिआइजी कार्कीले अपराध नियन्त्रण, लागुऔषध दुव्र्यसन र ओसारपसार नियन्त्रण, साथै जनचेतना अभिवृद्धिमा प्रहरीसँगै जनप्रतिनिधि, नागरिक समाज र सञ्चार माध्यमबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख भट्टराई र नगर प्रमुख खनालले स्थानीय सरकार सधैं शान्ति र सुरक्षाको पक्षमा प्रहरीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार नै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको विभिन्न शाखा र संरचनाको निरीक्षण गर्दै प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ जिम्मेवारीपूर्वक शान्ति, सुव्यवस्था र सुशासन कायम राख्न निर्देशन भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगा प्रमुख एवम् प्रहरी नाययव उपरीक्षक मदन केसीले जानकारी दिएका छन् ।