संघर्ष समिति र नगरपालिका बीच सहमतिः ओखलढुंगा बजारमा खसी र बंगुर एकै ठाउँबाट बिक्री हुने

भिजन समाचार
56
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा बंगुर व्यापारी र नगरपालिकाबीच समस्या समाधानका लागि भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ । नगरपालिकाको हटियास्थित पशुपंछी बिक्री केन्द्रमा अन्य पशुपंछी निर्वाध रूपमा बिक्री भइरहे पनि बंगुर व्यापारीहरूलाई खुला आकाशमुनि व्यापार गर्न बाध्य पारिएको भन्दै उनीहरूले बुधबार विरोध प्रदर्शन गरेका थिए । धर्ना र प्रदर्शनपछि भएको वार्ताले तत्कालका लागि समस्या समाधानमा सहमति जुटाएको हो ।

नगरपालिकाकाबाट वार्ता टोलीका संयोजक नगर उपप्रमुख केदारबाबु बस्नेतका अनुसार तत्कालका लागि खसी र बंगुर एउटै बिक्री केन्द्रमा व्यवस्थित रूपमा बिक्री हुने व्यवस्था मिलाइएको छ ।

साथै, स्थायी समाधानका लागि एक महिनाभित्र स्थायी संरचना निर्माण गर्ने निर्णय गर्न नगरपालिकाले तत्काल बैठक बोलाउने तयारी गरेको छ । ‘व्यापारीको माग सम्बोधनको लागि नगरपालिकाले पहल गरिरहेको अवस्थामा प्रदर्शनले थप द्रुत गमिा काम अघि बढाउने खबरदारी भएको छ ।’ उनले भने ।

संघर्ष समितिका संयोजक थगेन्द्र राईले भने तत्कालका लागि संघर्षको कार्यक्रमहरु स्थगित गरिएको भए पनि माग पूरा नभए पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

छलफलमा नगरपालिकातर्फबाट उपमेयर बस्नेत र संघर्ष समितितर्फबाट राईको संयोजकत्वमा वार्ता टोली सहभागी भएको थियो ।