सर्वोच्चको आदेशसँगै पुनः काम सुरु गर्ने भूमि समस्या समाधान आयोगको तयारी

भिजन समाचार
20
Shares

सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको आदेशलाई निरन्तरता दिएको छ । यससँगै ओखलढुंगामा पनि स्थगित भएको भूमिहीनको लालपुर्जा वितरण सम्बन्धी कार्य पुनः सुरु हुने भएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र शान्तिसिंह थापाको बिहीबारको इजलासले सरकारको आयोग खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले पनि सो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । अदालतले यस विषयमा मङ्सिर १४ गतेसम्म पेसी तोकी छिटो सुनुवाइ गर्नुपर्ने आदेशसमेत दिएको छ ।

सर्वोच्चको आदेशपछि आयोगका जिल्ला अध्यक्ष पुरुषोत्तम लुईटेलले ओखलढुंगामा आयोगको काम कार्तिक २२ गतेदेखि पुनः सुचारु गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार आयोग खारेज भएपछि अधुरो बनेका विवरण संकलन, जग्गा नापजाँच र लालपुर्जा वितरणको प्रक्रिया पुनः सुरु गरिनेछ ।

जिल्लामा हालसम्म करिब १५० बढी भूमिहीन सुकुम्बासी परिवारको विवरण संकलन भइसकेको छ ।

तीमध्ये मानेभञ्ज्याङ गाउँपालिका र सुनकोशी गाउँपालिकाका सात जनाको जग्गा नापजाँच सम्पन्न भएर लालपुर्जा वितरण प्रक्रिया अघि बढ्दै थियो । तर आयोग खारेज भएपछि काम रोकिएको थियो ।

लुईटेलका अनुसार सर्वोच्चको आदेशले फेरि पनि भूमिहीनको अधिकार सुनिश्चित गर्न आशा जगाएको छ ।

यसअघि आयोग खारेज भएपछि सबै जिम्मेवारी नापी कार्यालयमा गएको थियो ।