जिल्ला प्रशासन कार्यालय ओखलढंगाले अनुमति बिना ड्रोन क्यामेरा उडाउने व्यक्तिहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय जिल्लाका विभिन्न स्थान, समारोह, पर्व तथा भीडभाड भएका ठाउँमा अनधिकृत रूपमा ड्रोन प्रयोग बढेपछि प्रशासनले निगरानी कडा गर्ने जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीका अनुसार सुरक्षा संवेदनशीलता र नागरिक गोपनीयतामा असर पर्ने कारणले ड्रोन सञ्चालन गर्नुअघि अनिवार्य रूपमा प्रशासनबाट पूर्व–अनुमति लिनुपर्ने व्यवस्था छ । तर चालु आर्थिक वर्षको तीन महिनाको अवधिसम्म जिल्लामा कसैले पनि ड्रोन सञ्चालनका लागि अनुमति नलिएको उनले बताए ।
प्रशासनको तथ्यांक अनुसार गत आर्थिक वर्षमा पनि कुनै व्यक्तिले ड्रोन क्यामेरा सञ्चालनका लागि अनुमति लिएको थिएन । तर जिल्लाका विभिन्न क्षेत्रमा ड्रोन प्रयोग भएको पाईएको थियो ।
प्रशासनले आम नागरिकलाई अनधिकृत रूपमा ड्रोन क्यामेरा उडाइएको देखेमा तत्काल प्रहरी वा प्रशासनमा जानकारी गराउन आग्रह गरेको छ । साथै कुनै पनि कार्यक्रम वा स्थानमा ड्रोन प्रयोग गर्नुअघि जिल्ला प्रशासन वा सम्बन्धित निकायबाट स्वीकृति लिएर मात्र सञ्चालन गर्न सुझाव दिएको छ ।
हाल सामाजिक सञ्जालमा ओखलढुंगाका विभिन्न स्थानमा ड्रोनमार्फत खिचिएका तस्बिर र भिडियोहरू अपलोड हुने क्रम बढ्दै गएको पाइएपछि प्रशासनले यस विषयमा चासो देखाएको हो ।

प्रतिक्रिया