ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले अस्थायी र करार कर्मचारी हटाउने भएको छ । नगरपालिकाले अस्थायी करार पदमा कार्यरत कर्मचारीको सेवा सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।
संघीय सरकारको परिपत्र अनुसार नगरपालिकाले स्वीकृत दरबन्दी बाहेकका अस्थायी, करार र ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द गर्ने निर्णय गरेको हो । करिब ३० जना अस्थायी तथा करारका कर्मचारीकाे जागिर जाने भएकाे छ ।
नगर प्रमुख तेजन खनालको अध्यक्षतामा बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत किसान न्यौपानेले बताए ।
नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने निर्णय गरे अनुसार यहि कार्तिक १ गतेदेखि लागू हुने गरी स्वीकृत दरबन्दी बाहेक कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको सम्झौता रद्द गरेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए ।
रद्द गरिएको सम्झौतामा स्वास्थ्यकर्मी, नगरपालिकाको आन्तरिक श्रोतबाट तलब भत्ता पाउने निजी श्रोत शिक्षक, र अन्य कर्मचारीहरू रहेका छन् । नगरपालिकाले सार्वजनिक सूचनामार्फत सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

प्रतिक्रिया