जेन–जी आन्दोलनमा घाइते ओखलढुंगाका ११ जनालाई उपचार खर्च वितरणको तयारी

भिजन समाचार
116
Shares

गत भदौ २३ र २४ गते देशव्यापी रूपमा आयोजित जेन–जी आन्दोलनका क्रममा ओखलढुंगाका ११ जना घाइते भएको खुलेको छ । उनीहरूलाई उपचार खर्च लिनका लागि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आह्वान गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गृह मन्त्रालयबाट प्राप्त सूचीअनुसार ओखलढुंगा स्थायी ठेगाना भएका ११ जना घाइतेलाई उपचार खर्चबापत बीस हजार रुपियाँ वितरण गरिने जनाएको छ । घाइतेहरूलाई नागरिकता र परिचयपत्रसहित कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको सूचना अधिकारी तथा प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिए ।

प्रशासनका अनुसार सन्तोष वि.क, दिनेश भुजेल, अनिता सुनुवार, भरत श्रेष्ठ, नयन घर्ती, विजय तामाङ, दिप बहादुर भुजेल र अशोक खत्री घाईते भएका छन् । यस्तै सुनिल तामाङ, दिपक भुजेल, इन्द्र सुतार खत्री आन्दोलनमा घाईते भएका थिए ।

प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीका अनुसार माथिल्लो निकायबाट प्राप्त विवरणमा घाइतेहरूको ठेगाना स्पष्ट नहुँदा सूचना जारी गरेर आह्वान गरिएको हो ।

उपचार खर्च लिन आउँदा अस्पतालको उपचार सम्बन्धी कागजात, नेपाली नागरिकताको सक्कल प्रतिलिपि, अटो साइजको दुई थान फोटो र घाइतेको नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपि अनिवार्य रूपमा ल्याउनुपर्ने प्रशासनले जनाएको छ । घाइतेहरूले स्वयम् उपस्थित भएर औँठाछाप दिनुपर्ने भएकाले प्रतिनिधिमार्फत लिन नपाइने पनि स्पष्ट गरिएको छ ।

देशव्यापी रूपमा शान्तिपूर्ण रूपमा सम्पन्न जेन–जी आन्दोलनका क्रममा ओखलढुंगा शान्त रहे पनि देशका अन्य स्थानमा रहेका ओखलढुंगाका नागरिकहरू घाइते भएका थिए । घाइतेहरूमध्ये ओखलढुंगा बाहिरका अस्पतालमा उपचाररत रहेका व्यक्तिहरूलाई पनि सम्बन्धित जिल्लाकै प्रशासन कार्यालय मार्फत सहयोग उपलब्ध गराइने गृह मन्त्रालयले जनाएको छ ।