आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै ओखलढुंगामा विशेष मतदाता नामावली संकलन तथा अद्यावधिक अभियान सुरु गरिएको छ । अभियान सुरु भएलगत्तै एक साताभित्र ५८ जना नयाँ मतदाता दर्ता भएका छन् ।
जिल्ला निर्वाचन अधिकारी बिदुर बस्नेतका अनुसार नयाँ मतदाता दर्ता हुनेहरूको संख्या दैनिक रूपमा बढ्दै गएको छ । बस्नेतका अनुसार हालसम्म दर्ता गराउनेमध्ये अधिकांश युवा वर्गका छन् ।
जिल्ला निर्वाचन कार्यालयले असोज १० गतेदेखि स्थानीय तह र सम्बन्धित निकायहरूमा सूचना जारी गरी नामावली संकलन तथा अद्यावधिक प्रक्रिया सुरु गरेको हो । मतदाता दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य गरिएको छ भने विवाह भई आएका व्यक्तिका लागि विवाह प्रमाणपत्र आवश्यक पर्ने बताइएको छ ।
यस पटकको अभियान विगतका भन्दा फरक ढङ्गले सञ्चालन भइरहेको कार्यालयले जनाएको छ । नयाँ दर्तासँगै पुराना विवरण अद्यावधिक गर्ने, त्रुटि सच्च्याउने र विवरण संशोधन गर्ने कार्य पनि समान रूपमा भइरहेको छ ।
निर्वाचन कार्यालयका अनुसार बाहिरी जिल्लाका नागरिकहरूले पनि आवश्यक कागजातका आधारमा ओखलढुंगामा नाम दर्ता गर्न सक्ने सुविधा पाउने छन् । कार्यालयले मतदाता नामावली अद्यावधिक अभियानलाई आगामी निर्वाचन सम्म निरन्तर जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया