तिहार नजिकिँदै गर्दा ओखलढुंगा प्रहरीले पटकाजस्ता विस्फोटक पदार्थको आयात, बिक्री र प्रयोग रोक्न विशेष निगरानी सुरु गरेको छ ।
तिहारका बेला पटकाजन्य विस्फोटक पदार्थ र सामाग्रीहरूको तस्करी र अवैध कारोबार हुने भएकाले जिल्लामा प्रवेश गर्ने नाका तथा बजार क्षेत्रका पसलहरूमा प्रहरीले कडाइका साथ चेकजाँच सुरु गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।
डीएसपी केसीका अनुसार पटकाबाट वातावरण प्रदूषण, ध्वनि प्रदूषण, आगलागीको जोखिम बढ्ने तथा मुटुरोगी, बालबालिका र वृद्धहरूलाई गम्भीर असर पर्ने भएकाले प्रहरीले नियमित अनुगमनलाई तीव्र पारेको हो ।
विगतका वर्षहरूमा पटका र आतिसबाजीका कारण आगलागी भई जनधनको क्षति हुने घटना भएकाले यसपटक त्यस्तो जोखिम रोक्न प्रहरी सतर्क बनेको उनले बताए ।
प्रहरीका अनुसार कानुन विपरीत विस्फोटक पदार्थ ओसारपसार, भण्डारण, बिक्री वा प्रयोग गर्ने जोकोहीलाई कडा कारबाही गरिनेछ । कडा विस्फोटक पदार्थ भेटिए १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना, नरम विस्फोटक पदार्थ भेटिए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना, सामान्य प्रकारको विस्फोटक पदार्थ भेटिए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
त्यस्तै, विस्फोटक पदार्थ उत्पादन, निर्माण वा कारोबार गर्ने व्यक्ति वा समूहलाई दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले तिहारको सन्दर्भमा सबैलाई कानुनको पालना गर्न, बालबालिकालाई पटका नखेल्न सचेत गराउन र सुरक्षित तरिकाले पर्व मनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया