विश्व दृष्टि दिवसमा ७० प्रहरीको आँखा जाँच

भिजन समाचार
50
Shares

जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा ७० जना प्रहरीको निःशुल्क आँखा जाँच गरिएको छ । ७० औं प्रहरी दिवस तथा विश्व दृष्टि दिवसको अवसरमा शनिबार जिल्ला प्रहरी कार्यालय र सामुदायिक आँखा केन्द्र ओखलढुंगाको सहकार्यमा प्रहरी कर्मचारीको आँखा जाँच गरिएको हो ।

आँखा परीक्षणमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन केसीसहित ७० जना प्रहरी कर्मचारी सहभागी भएका थिए । प्रहरीहरू सडक, धुवा, धुलो र प्रत्यक्ष प्रकाशको किरणमा काम गर्ने भएकाले आँखासम्बन्धी समस्या देखिने जोखिम बढी हुने भएकाले दिवसको अवसरमा आँखा स्वास्थ्य परीक्षण गरिएको डिएसपी केसीले जानकारी दिए ।

उनका अनुसार नागरिकको सुरक्षामा अहोरात्र खटिने प्रहरीहरूको आँखा स्वस्थ हुनु अत्यावश्यक भएकाले स्वास्थ्य सचेतना कार्यक्रमले उनीहरूको कार्यक्षमता वृद्धि गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

सामुदायिक आँखा केन्द्र ओखलढुंगाकी प्रमुख टिका राईका अनुसार परीक्षणमा सहभागी तीन जना प्रहरीमा आँखामा थप उपचार आवश्यक समस्या देखिएको छ । ती प्रहरीलाई आवश्यक औषधि, चश्मा प्रयोग र उपचारका लागि परामर्श प्रदान गरिएको उनले बताइन् ।

उनले आँखा केन्द्रले प्रहरीहरूमा दृष्टि संरक्षणको महत्त्वबारे जानकारीमूलक सन्देश पनि दिएको बताइन् ।

प्रहरी दिवसको अवसरमा ओखलढुंगामा खेलकुद, सरसफाइ, वृक्षरोपण र रक्तदानजस्ता कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।