ओखलढुंगामा दशैं शान्तिपूर्ण

भिजन समाचार
14
Shares

ओखलढुंगामा यस बर्षको दशै शान्तिपूर्ण भएको छ । यस बर्षको दशैँमा जिल्लामा कतै पनि आपराधिक र अवान्छित गतिविधि भएनन् । त्यस अनुसार सुरक्षा निकायले दशैं शान्तिपूर्ण भनेकाे हाे ।

कतैकतै सामान्य वादविवादका घटना भएका भए पनि प्रहरी र प्रशासनसम्म उजुरी नै आउने गरि कुनै त्यस्ता घटना नभएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले भिजनसँग बताए ।

चाडवर्प लक्षित सुरक्षा योजना कडाईका साथ लागु गरिएको र आम नागरिकले पनि जिम्मेवार भएर चाडपर्व मनाएकोले कुनैपनि अवान्छित घटना नभएको उनको भनाई छ । यस बिचमा सवारी दुर्घटनाका कारण केही दिन रमाइलोडाँडामा अवस्था तनाग्रस्त भए बाहेक अन्य कुनै घटना नभएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

जिल्लामा शान्ति सुरक्षा कायम गर्न र चाडपर्वलाई शान्तिपर्ण, मर्यादित तथा सुरक्षित बनाउन चाडवर्प लक्षित विशेष सुरक्षा योजना लागु भइरहेको छ ।

प्रहरीले जिल्लाको सुरक्षा व्यवस्थापनलाई ख्याल गर्दै विषेश सुरक्षा योजनाका साथ अघि बढेकाले चोरी ढकैती, लुटपाट, झैझगडा तथा अन्य आपराधिक घटनाहरु नभएका हुन् । दशैँ तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर जिल्लामा सादा पोशाक सहित बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

दसैँ जस्तै तिहारलाई पनि शान्तिपुर्ण बनाउन र अवान्छित गतिविधि रोक्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना कडाईका साथ लागू हुने जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।