मतदाता नामावली अद्यावधिक कार्य सुरु


आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै ओखलढुंगामा मतदाता नामावली अद्यावधिक कार्य सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले शुक्रबारदेखि औपचारिक रूपमा अद्यावधिक प्रक्रिया थालेको हो ।

निमित्त जिल्ला निर्वाचन अधिकारी बिदुर बस्नेतका अनुसार हालसम्म नामावलीमा नाम नपरेका वा नयाँ उमेर पुगेका नागरिकले आवश्यक कागजातसहित कार्यालयमा उपस्थित भई आफ्नो विवरण दर्ता तथा अद्यावधिक गराउन सक्नेछन् । निर्वाचन आयोगले मुलुकभर सञ्चालन गरिरहेको मतदाता नामावली संकलन तथा अद्यावधिक अभियान अन्तर्गत ओखलढुंगामा पनि सक्रिय सहभागिता हुने अपेक्षा गरिएको छ ।

विशेषगरी १८ वर्ष पूरा गरेका नयाँ मतदातालाई दर्ता गर्न प्रोत्साहित गर्न स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य गरिएको निर्वाचन कार्यालयले जनाएको छ । पहिलो दिन शुक्रबार पाँच जनाले आफ्नो विवरण प्रविष्ट गराइसकेका छन् ।

कार्यालयका अनुसार हाल ओखलढुंगामा एक लाख १८ हजार २७१ जना मतदाता रहेका छन् । पछिल्लो समय नागरिकता प्राप्त गरेका नयाँ पुस्ता र नामावलीमा नाम छुटेकाहरूलाई समेट्ने क्रम जारी रहेकाले यो संख्या अझ बढ्नेछ ।